ठेकेदारले काम सम्पन्न नगरी मेसिन लैजान खोजेपछि नगरपालिकाले ताला लगायो

याे सामग्री सेअर गर्नुहाेस्

खोटाङ, २३ कात्तिक २०७९ ।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ठेकेदार कम्पनीको मेसिनमा तालाबन्दी गरेको छ । जिम्मा लिएको काम सम्पन्न नगरी मेसिन अन्यन्त्र लैजान खोजेपछि नगरपालिकाले तालाबन्दी गरेको हो । जिल्ला अस्पताल चोक–लफ्याङ सडक खण्डको सडक स्तरोन्नतिको जिम्मा करिब पाँच करोडमा ढुकुचु बगाले विएन्टी जेभी कम्पनीले पाएको हो ।

सम्झौताअनुसार काम सम्पन्न गर्न चार महिना बाँकी छ । सम्झौता मिति सकिन लाग्दा पनि काम सम्पन्न गर्नुको सट्टा मेसिनहरू नै लिएर अन्यन्त्र जान खोजेपछि ताला लगाइएको नगरपालिकाले जनाएको छ । टिप्परलगायतका केही सामान कम्पनीले केही समयअगाडि रातको समय पारेर लगिसकेको पाइएको छ । बाँकी रहेका केही मेसिन लान खोज्दा आइतबार नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाध्यक्ष दिनेश घिमिरे, वडा नम्बर १ का वडाध्यक्ष नवराज राईलगायतले विज्ञप्ति जारी गर्दै ताला लगाउनुभएको हो ।

कात्तिक ३ गते पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर नगरपालिकाभित्र सञ्चालन भइरहेका सम्पूर्ण योजनाको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र बेखबर बनेका निर्माण कम्पनी सम्पर्कमा आएर मासिक प्रगति विवरण बुझाउन नगरपालिकाले अनुरोध गरेको थियो । सम्पर्कमा नआउने कम्पनीलाई कारबाहीको लागि सिफारिस गर्ने नगरपालिकाले जनाएको थियो तर काम सम्पन्न नगरी निर्माण स्थलमा भएका मेसिनरी सामानहरू अन्यन्त्र लैजाने कोसिस गरेकाले ताला लगाइएको विज्ञप्तिमा उल्लेख छ ।

सडकको अवस्था नाजुक रहेको तर काम गर्न छाडेर निर्माण कम्पनी भाग्न खोजेपछि नगरप्रमुख तिर्थराज भट्टराईको निर्देशनमा ताला लगाइएको प्रवक्ता घिमिरेले बताउनुभयो । “सडकको स्तरोन्नति नहुँदा बिरामी, ज्येष्ठ नागरिक, बालबालिका, महिलालाई आवतजावतमा समस्या भएको छ । अन्य पालिकाबाट बिरामी जिल्ला अस्पताल ल्याउनसमेत हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था छ । त्यसैले यो सडकको काम पुनः सञ्चालन नभएसम्मका लागि हामीले ताला लगाएका हौँ ।” प्रवक्ता घिमिरेले भन्नुभयो ।

यस्तै नगरपालिकाभित्र टेन्डर परेका अधिकांश योजनाहरू निर्माण कम्पनीले अलपत्र पारेकाले अब नगरपालिका चुपचाप नबस्ने नगरप्रमुख भट्टराईले बताउनुभयो । “नगरपालिकामा सडक स्तरोन्नति, ढलानलगायतका धेरै योजनामा टेन्डर परेको छ, कतिपय काम आधा पनि भएको छ तर निर्माण कम्पनीले योजनाहरू अलपत्र पारेर सम्पर्क विहीन बनेको अवस्था छ । त्यसैले अब हामी चुप बस्दैनौँ, कहाँ गएर आन्दोलन गर्नुपर्ने हो, कुन निकायमा गएर धर्ना बस्नुपर्ने हो, या तालाबन्दी गर्नुपर्ने हो त्यो हामी सबै गर्छौँ । हामीलाई काम छिटो चाहिएको छ,” भट्टराईले भन्नुभयो । आजको गोरखापत्रमा समाचार छापिएको छ ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो