मेलमिलाप समूहद्वारा देउसी भैलो खेलेको पैसा मृगौला पीडितलाई सहयोग

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २७ कात्तिक २०७९ ।

कुश्मिसेराको मेलमिलाप समूहले मृगौला रोगबाट पीडितहरुलाई राहत सहयोग गरेको छ । बागलुङको जैमिनीमा रहेको समूहले देउसी भैलो खेलेर उठाएको रकमबाट मृगौला पीडितलाई सहयोग गरेको हो ।

शनिबार जैमिनी नगरपालिका–९ पैयुँथन्थापका टिका थापा र शुक्रबार वडा नं–१० राङ्खानीका गंग बहादुर थापालाई जनहीँ ५÷५ हजारका दरले सहयोग गरिएको संस्थाले जनाएको छ । पीडितका लागि थोरै भएपनि राहत होस् भनेर आफन्तलाई रकम हस्तान्तरण गरिएको छ ।

जैमिनी नगरपालिकाभर रहेका मृगौला रोगीहरुको उपचारका लागि सानो भएपनि सहयोग होस् भन्ने उद्देश्यले तत्काल २ जनालाई जनहीँ ५ हजारका दरले रकम सहयोग गरिएको संस्थाका सचिव बलराम थापा मगरले जानकारी दिनुभयो । जैमिनी नगरपालिकाभरको मृगौला रोगीहरुलाई आफूहरुले सहयोग गर्ने भएकाले थोरै रकम प्रदान गरिएको उहाँको भनाई छ ।

जैमिनी नगरपालिकामा लामो समयदेखि बसोबास गरिरहेका सहित हाल जैमिनीमै रहेका नगरवासी मृगौला रोगीहरुलाई जनहीँ ५ हजारका दरले सहयोग गर्ने निर्णय भएको समूहले जनाएको छ । वडाको सिफारिस सहित सम्पर्क गर्नेहरुलाई समूहले सहयोग गर्ने बताइएको छ ।

देउसी भैलो खेलेर संस्कृति पनि बच्ने र कसैको ज्यान पनि बच्ने भएकाले आफूहरुले मृगौला रोगीहरुलाई सहयोग गर्ने योजना बनाएको समूहका अध्यक्ष मन बहादुर बहिकले बताउनुभयो । चाडवाडमा गरेको रमाइलोले केहि रकम जोहो भएको र यसैबाट पीडितहरुलाई सहयोग गर्ने उहाँको भनाई छ ।

समूहले गतबर्ष देउसी भैलो खेलेर ७७ हजार रुपैयाँ बचत गरेको र यो बर्ष १ लाख २६ हजार बचत गरेकोे छ । समूहले केहि बाद्यबाधनका सामग्री समेत जोहो गरेको बताइएको छ । गएकोे तिहारमा समूहले लोप हुँदै गएको सोरठी सहित अर्गानिक देउसीभैलो खेलेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो