जैमिनी मेलाको तेस्रो दिन खचाखच दर्शक, सांसद थापाद्वारा मुल समारोहको उद्घाटन

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी
बागलुङ, १ माघ २०७९ ।

कुश्मिसेरामा सञ्चालित जैमिनी मेलाको मुल समारोह उद्घाटन भएको छ । गण्डकी प्रदेशका सांसद लिल बहादुर थापाले मेलाको मुल समारोह उद्घाटन गर्नुभएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम तय भएपनि पोखरामा विमान दुर्घटना भएपछि अधिकारी आउन नपाएपछि थापाले मेलाको मुल समारोह उद्घाटन गर्नुभएको मेला आयोजक सहारा क्लव कुश्मिसेराले जनाएको छ ।

मेलाको उद्घाटन पछि बोल्दै प्रमुख अतिथि थापा मगरले दक्षिणीभेगको बिकास हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो । आफूहरुले दक्षिणी भेगको बिकासका लागि ठुलो कष्ट गर्नुपरेको सम्झना गर्दै थापाले उतिबेलाको बिकास हेर्दा अहिले सन्तोषजनक अवस्था नभएको धारणा राख्नुभयो । “पहिले त्यति संघर्ष गरेर दक्षिणी भेगमा मोटरबाटो खनियो तर अहिले सामान्य स्तरोन्नति भन्दा खासै फरक परेको छैन” थापाले भन्नुभयो “बिकास नभएको त भन्न मिल्दैन तर जति हुनुपथ्र्यो त्यति चाहिँ भएन ।” जुनसुकै राजनीतिक पार्टीबाट आफुहरु आएपनि बागलुङको विकासका लागि सबै एक भएर लाग्ने उहाँको भनाई छ ।

नेता थापाले शान्तिको प्रतिक परेवा उडाएर र पानसमा दीप प्रज्वलन गरी मेलाको उद्घाटन गर्नुभएको थियो ।

यस्तै गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले जनताले बागलुङको विकास गर्न भन्दै मत दिएर पठाएपछि आफुहरुले जिल्लाको विकासको लागि अहोरात्र खटेर काम गर्ने बताउनुभयो । स्वास्थ्य शिक्षा, रोजगारी लगाएत जनताका आधारभूत आवश्यकताहरु पुरा गर्ने राज्यको दायित्व भएकाले तीन तहको सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने भन्दै उहाँले आफ्नो कार्यकालमा जनताको गुनासो नआउने गरी काम गर्ने प्रतिवद्धता व्यक्र गर्नुभयो ।

निवर्तमान संघीय संसाद डाक्टर सुर्य पाठकले हरेक नागरिकहरुसँग प्रत्यक्ष सरोकार राख्ने काम गर्नु सबै तहका सरकारको दायित्व भएपनि स्थानीय सरकार बढी जनतासँग नजिक हुने भएकाले स्थानीय सरकारले जनभावना अनुसार विकासमा जोड दिनुपर्ने बताउनुभयो । आफ्नो पालामा सक्दो विकास गरेको भन्दै उहाँले अहिले पनि विकासमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले स्थान्ीय तह जनताको नजिकको सरकार भएकाले सबैकुरा हेर्ने दायित्व आफ्नो काँधमा रहेको बताउनुभयो । यहाँ भएका हरेक वस्तुको संरक्षण र सम्बद्र्धन गर्ने क्रममा नगरपालिका रहेको भन्दै उहाँले यस्ताखाले मेला महोत्सवहरुलाई अझै थप व्यवस्थित गर्दै जैमिनीको पहिचान बनाउने धारणा राख्नुभयो ।

माघेसक्रान्तिको अवसरमा बिहान जैमिनीघाटमा विशेष पुजाआजा सहित कुश्मिसेरासम्म पदयात्रा भएको थियो । पवित्र कालिगण्डकी नदीको तीरमा अवस्थित जैमिनी ऋषिको तपोभूमि जैमिनीघाटमा स्नान सहित तोरण तार्ने कार्यक्रम समेत तय गरिएको कार्यक्रमको समन्वयकर्ता जैमिनी संकीर्तन समुहका अध्यक्ष संगम क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका बिभिन्न वडाका कृषकहरुले उत्पादन गरेका बिभिन्न खाद्यन्न, नगदे, तरकारी तथा फलफुल बालीहरु प्रदर्शनीमा राखिएको छ । स्टलमा कृषकहरुले उत्पादन गरेको, बाँकोको गुन्द्रुक, अदुवा, बेसार, काउली, फर्सी, बन्दा, मुला, रायो, मास, सिलटुङ, धनियाँ लगाएतका तरकारी बालीहरु प्रदर्शनीमा राखिएको छ । यस्तै सुन्तला, मेवा लगाएतका फलफुल र कोदो, जुनेलो, अनादी धान, मकै सहित रैथाने खाद्य बालीहरु प्रदर्शनमा राखेको जैमिनी नगरपालिकाका कृषि प्राविधिक प्रमिला शर्माले जानकारी दिनुभयो ।

प्रदर्शनीमा राखिएका उत्कृष्ट कृषि बालीका कृषकहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेले २ हजार, द्वित्तीय हुनेले १ हजार र तृतीय हुनेले ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । मेलामा पशु प्रदर्शनीको स्टल पनि रहेको छ । जैमिनीका कृषकहरुले पालेका खसी, बोका, टर्की, बाख्रा, कुखुरा लगाएत प्रदर्शनी राखिएको थियो । पशु प्रदर्शनीको प्रथम पुरस्कार ५ हजार, द्वित्तीय पुरस्कार ३ हजार र तेतीय पुरस्कार १ हजार रुपैयाँ रहेको छ भने पंक्षीको लागि भने ३ हजार, २ हजार र १ हजार पुरस्कार राशी तोकिएको छ ।

सहारा क्लव कुश्मिसेराको आयोजनामा भएको मेलाको तेस्रो दिन आज विविध झाँकी सहित साँस्कृतिक कार्यक्रम भएको छ । “स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग, व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने नारा सहित सञ्चालित मेलामा आज हेमन्त शर्मा, बिनु क्षेत्री, सन्तोष बत्स्याल लगाएतका कलाकारहरुले सांगितीक प्रस्तुति राखेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो