सपना र प्रतिवद्धता पुरा गर्दै जैमिनी, गाउँ गाउँमा विशेषज्ञ सेवा सहित स्वास्थ्य शिविर

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, १७ जेठ २०८० ।

बागलुङको जैमिनी नगरपालिकाले विगतमा गरेका प्रतिवद्धता र देखेका सपना पुरा गर्न थालेको छ । विज्ञ सम्मेलन देखि गाउँ गाउँ मै विशेषज्ञ सेवा दिने जैमिनीको सपना पुरा हुँदै गएको हो ।

विरामीले अस्पताल खोज्ने झण्झट भोग्न नपर्ने गरी नगरपालिकाले गाउँ गाउँमा नै विरामी खोज्ने र रोग अनुसारको उपचार गर्ने बताउँदै आएको जैमिनी नगरपालिकाले विशेषज्ञ सेवा सहित स्वास्थ्य शिविर गर्न थालेको छ । जैमिनी नगरपालिकाका बिभिन्न वडाहरुलाई केन्द्रित गरेर गाउँ गाउँमा नै विशेषज्ञ डाक्टर र उपकरण सहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न सुरु गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिकाले जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा बजार बाट निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेको छ । सोमबार सम्पन्न विशेषज्ञ डाक्टरहरु सहितको निःशुल्क स्वास्थ्य शिविरबाट बिभिन्न वडाका ४ सय ३० महिला र १ सय ४६ पुरुष गरी कुल ५ सय ७६ जनाले सेवा लिएका थिए । साहारा हस्पिटल पाेखराकाे प्राविधिक सहयाेगमा कुश्मिसेरामा अवस्थित शान्ति माध्यामिक विद्यालयको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा बिभिन्न रोगका लागि छुट्टाछुट्टै कक्षबाट उपचार गरिएको थियो ।

यस पटकको स्वास्थ्य शिविर जैमिनी नगरपालिकाको वडा नं १, २, ४ र ५ लाई लक्षित गरेर गरिएको भएपनि प्राय सबै वडाका नागरिकहरु शिविरमा उपस्थित भएर सेवा लिएका थिए । अब अन्य वडाहरुमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारीमा नगरपालिका छ ।

शिविरमा प्रसुति, स्त्री तथा बाँझोपन रोग विशेषज्ञ डाक्टर गिरिधारी शर्मा, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर ईशवर शर्मा कंडेल, प्रोष्टेड पत्थरी तथा पिसाब रोग विशेषज्ञ डाक्टर हरि बहादुर के.सी, पेट, छाती तथा मुटुरोग विशेषज्ञ डाक्टर असिम भुषाल र दाँत तथा मुख रोग विशेषज्ञ डाक्टर माया पुनले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । यस्तै शिविरमा भिडियो एक्सरे, इसिजी सेवा समेत दिइएको थियो ।

जैमिनी नगरपालिकाका नागरिकहरु प्रति नगरपालिका संवेदशिल रहेकाले बिभिन्न संघ संस्थाहरुको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले बताउनुभयो । स्वास्थ्य शिविरबाट नगरपालिकामा वास्तविक रोगका बिरामी समेत पत्ता लाग्ने भएकाले यसबाट नगरपालिकालाई स्वास्थ्य क्षेत्रमा थप कार्यक्रम गर्न सहयोग पुग्ने उहाँको अपेक्षा छ ।

अब जैमिनीले वडा नं २ को उपल्लो भेग र वडा नं ३ लाई केन्द्रित गरेर एक ठाउँमा, वडा नं ९ र १० लाई केन्द्रित गरेर १ ठाउँमा र वडा नं ६,७ र ८ लाई र छुटेका अन्य वडाहरुका नागरिकहरुलाई मध्यनजर गर्दै एक वा दुई ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी छ । सबै वडाहरुमा सोहि अनुसारका विशेषज्ञ सेवा सहित उपचार हुने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो