जैमिनीमा जातीय विभेद सम्बन्धी अन्तरक्रियाः विभेदको स्वरुप फेरियो तर हट्न सकेन

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, २२ जेठ २०८० ।

नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा बागलुङको जैमिनीमा सम्मान तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । शिक्षक सेवा आयोग र स्वास्थ्य सेवा आयोगबाट सिफारिस भै जैमिनी आएका दलित शिक्षक र स्वास्थ्यकर्मीको सम्मान सहित अन्तरक्रिया कार्यक्रम कुश्मिसेरामा सम्पन्न भएको हो ।

कार्यक्रममा स्वास्थ्य सेवा आयोगबाट सिफारिस भै जैमिनी नगरपालका ८ छिस्ती स्वास्थ्य चौकीमा कार्यरत अ.हे.व भिम नेपाली, शिक्षा सेवा आयोगबाट सिफारिस भै जैमिनी नगरपालिका ३ स्थित भरतमुरी माध्यामिक विद्यालयमा कार्यरत शिक्षक टेक बहादुर के.वी, लक्ष्मी विश्वकर्मा र जनप्रिय आधारभूत विद्यालयमा कार्यरत शिक्षक माया वि.कलाई सम्मान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख देवि सुनारले जानकारी दिनुभयो । गतबर्ष दलित समुदायका जनप्रतिनिधिको सम्मान र अघिल्लो बर्ष लोक सेवा आयोगबाट सिफारिस भै जैमिनी आएका दलित समुदायका नागरिकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको औचित्य माथि प्रष्ट पार्दै दलित मुक्ती मोर्चाका केन्द्रिय सदस्य तथा जैमिनी नगरपालिकाका कार्यपालिका सदस्य लाल बहादुर परियारले जेठ २१ गते दलितहरुको इतिहास भएकाले यसलाई विविध कार्यक्रम गरी मनाउने गरिएको बताउनुभयो । जैमिनी नगरपालिकामा अझै पनि जातीय विभेद कायम नै रहेको उल्लेख गर्दै उहाँले अब सरकार र राज्यले कानुन मात्रै बनाउने नभई कार्यन्वयनको पाटोलाई पनि हेर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले जातीय विभेद भन्ने कुरा कहाँ बाट आयो र कहिले टुंगिन्छ भनेर थाहा नभएतापनि यसलाई अन्त्य गर्ने जिम्मा अहिलेका नागरिकहरुको नै भएको बताउनुभयो । आवश्यकतामा विभेद नहुने र आवश्यकता नपर्दा विभेद हुने प्रचलन कदापी राम्रो नहुने भन्दै उहाँले विभेद गर्नुपर्छ र हुनुपर्छ भन्ने कुनै वैज्ञानिक कारण नभएको बताउनुभयो । अहिलेको विज्ञानको जमानामा यस्ता आधारहिन कुराहरुमा अल्झिनु भनेको आफै पछि पर्ने मात्रै रहेको उहाँको भनाई छ । खोला तर्दा छुवाछुत नहुने तर बाहिर छुवाछुत गर्ने प्रचलनले नै समस्यामा छुवाछुत बिर्सेर जिवन बचाउने तर्फ सोच्ने उदाहरण दिँदै प्रमुख पुनले कोहिपनि जातले ठुलो र सानो नहुने बताउनुभयो ।

कार्यक्रममा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले अहिलेको यो सताप्दीमा पनि जातभात र छुवाछुतको कुरा गर्नु मुर्खता बाहेक अरु केहि नभएको बताउनुभयो । कसैको श्रम र सिप चल्छ भने उसलाई छुवाछुत गर्नु गलत रहेको भन्दै उहाँले यस्ता कुरितिहरुलाई हामीले नै हटाउनुपर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले विभेदको सन्दर्भमा रहेका अधिकांश प्रश्नहरु गम्भीर रहेकाले यसको मुल कारण खोज्नुपर्ने बताउनुभयो । कारण खोजेर समाधान गर्नुभन्दा एक समुदायले अर्को समुदायलाई आरोप लगाउने प्रवित्ति गलत भएको भन्दै उहाँले हिजोको सिकाइलाई अबको व्यवहारिक बनाउन सके विभेद अन्त्य हुने धारणा राख्नुभयो ।

जैमिनी नगरपालिका वडा नं ७ का वडाध्यक्ष केन्द्र बहादुर सुनारले दलितहरुको हक र अधिकार कागजमा मात्रै सिमित भएकाले यसलाई व्यवहारिक बनाउनुपर्ने बताउनुभयो । दलित समुदायले पनि देशको कानुन मान्नुपर्ने भएकाले यता तिर पनि ध्यान दिन आग्रह गर्दै उहाँले दलितलाई विभेद गर्ने कुनै समुदाय मात्रै नभएर राज्य नै भएको गुनासो गर्नुभयो । राज्यले कानुनको कार्यन्वयनमा चासो नदिँदा यो समस्या आएको उहाँको भनाई छ ।

अन्तरक्रिया कार्यक्रमको सहजिकरण गर्दै जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर विकले जातीय विभेद र छुवाछुत अन्त्य गर्न सबैले चाहने तर अन्त्य गर्न कसैले नखोज्ने गरेको बताउनुभयो । छुवाछुत गर्दिन भनेर सबैले भन्ने तर सबैले गर्ने गरेका कारण अहिले पनि समाजमा दलित जातीहरु हेपिएर बस्नुपरेको उहाँको भनाई छ । मानिसको रुपबाट नै विभेद सुरु हुने भन्दै उहाँले विभेद अझैपनि घट्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । दलितका हक अधिकार, छुवाछुत सम्बन्धी कानुनी व्यवस्था लगाएतका विषयमा उहाँले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित हुने शिक्षक लक्ष्मी विश्वकर्माले शिक्षक भनिने हरुबाट नै जातीय विभेद भैरहेको बताउनुभयो । सामान्य लागेका कुराहरुमा पनि विभेद भैरहेको भन्दै उहाँले शिक्षा आर्जन गरेर चेतनामा परिवर्तन गर्न नसक्दा यो समस्या आएको बताउनुभयो ।

“छुवाछुद तथा विभेद विरुद्ध शुन्य सहनशिलता, कानुन कार्यन्वयनका लागि हाम्रो प्रतिवद्धता” भन्ने नारा सहित जैमिनी नगरपालिकाको आयोजनामा १८ औं जातीय भेदभाव तथा छुवाछुद उन्मुलन राष्ट्रिय दिवसको अवसरमा सम्मान एवम् जातीय भेदभाव तथा छुवाछुद उन्मुलन विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका सभापति तथा जैमिनी नगरपालिकाका कार्यपालिका सदस्य चिन्तामणी दर्जीले दलित समुदायले पहिचान लुकाएर हिड्नुभन्दा पहिचान सहितको समानता खोज्नुपर्नेमा जोड दिनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो