जैमिनीमा उद्यमशिलता विकास तालिम सम्पन्न, अब सिपमूलक र व्यवहारिक तालिम दिइने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २६ जेठ २०८० ।

जैमिनीमा वैदेशिक रोजगारबाट फर्किएकाहरुको लागि उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिकाले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई लक्षित गरी पुनः एकिकरण कार्यक्रम अन्तरगत उद्यमशिलता विकास तालिम सञ्चालन गरेको हो ।

विदेशमा काम गरेर फर्किएकाहरुको लागि वेल्डिङ, मोटरसाइकल मर्मत र बाख्रापालन तालिम सञ्चालन गर्न थालेको नगरपालिकाले उनीहरुलाई व्यवसायिक र उद्यमशिल बनाउनका लागि यो तालिमको आयोजना गरेको जैमिनी नगरपालिकाका रोजगार सेवा केन्द्र प्रमुख सुरेश पुनले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो ।

तालिममा व्यवसायिक योजना, उत्पादन र उपभोगको सम्बन्ध, व्यवसायको अर्थ र यसका उद्देश्य लगाएतका विषयमा जानकारी गराइएको थियो । तालिममा लघुउद्यम विकास सहजकर्ता मन बहादुर रानाले व्यवसायिक योजना सहित खेल मार्फत प्रशिक्षण गर्नुभएको थियो । यस्तै लघुउद्यम विकास कार्यक्रमकी सम्पर्क व्यक्ति सरिता शर्माले व्यवसायको अवधारणा, सुरक्षित आप्रवाशन परियोजना(सामी) कार्यक्रमका सम्पर्क व्यक्ति प्रेम सापकोटाले वैदेशिक रोजगारीका समस्या र सामी परियोजनाले गरिरहेका कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो । यस्तै रोजगार संयोजक सुरेश पुनले लागत तथा विक्रि मूल्य निर्धारण, रेशमलाल चापागाईँले उद्यममीमा हुनुपर्ने गुण र विशेषता र ग्लोबल आइएमई बैंकका कर्मचारी पदम आचार्यले लेखापालन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

जैमिनी नगरपालिकाका बिभिन्न वडाबाट सहभागी भएकाहरुले उद्यमशिलता विकास तालिम लिएपछि सिपमूलक तालिम लिन र व्यवसायिक बन्न सजिलो हुने बताएका छन् । जैदी बाट तालिममा सहभागी हुनुभएका एकलाल गिरीले तालिम प्रभावकारी र व्यवहारिक भएकाले यस्ता तालिम सबैले लिनुपर्ने बताउनुभयो । यस्ता खाले तालिम यस अघि नै सञ्चालन भएको भए आफूले अहिले गरिरहेको व्यवसायमा निकै टेवा पुग्ने भन्दै उहाँले आगामी दिनहरुमा उद्यमीहरुलाई यस्तै जिवन उपयोगी तालिम प्रदान गर्न जैमिनी नगरपालिकालाई आग्रह समेत गर्नुभयो ।

यस्तै जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले स-साना उद्यमले नागरिकहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने हुनाले अब नगरपालिका त्यतातिर लागेको बताउनुभयो । नगरपालिकाका नागरिकहरुको आवश्यकतालाई हेरेर बिभिन्न सिपमूलक तालिम प्रदान गर्ने उहाँको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले सिप सिकेर कार्यन्वयन गर्न सके बल्ल त्यसले अर्थ राख्ने बताउनुभयो । व्यवसाय गरे पनि ज्ञान विना गर्दा हरेक कुरा असहज पर्ने भएकाले नगरपालिकाले व्यवहारिक ज्ञान दिने उहाँको भनाई छ ।

१० वटा वडा रहेको जैमिनीमा वडा नं ८ र वडा नं ५ बाहेक अन्य वडाबाट १८ जना तालिममा सहभागी भएका थिए । जेठ २२ गतेबाट सुरु भएको तालिम २५ गते बिहिबार सकिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार