जैमिनीको आगामी बर्षको नीति तथा कार्यक्रम पारित, यस्ता छन् प्राथमिकताका क्षेत्रहरु

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ७ असार २०८० ।

बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम नगर सभामा पेश गरेकोे छ । बुधबार जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले १३ औं नगरसभाको बैठकमा आगामी आर्थिक बर्षका लागि तय भएको नीति तथा कार्यक्रम सभामा पेश गर्नुभएको हो ।

जैमिनी नगरपालिकाले आर्थिक बर्ष २०८०÷८१ को लागि कृषि, उत्पादन र पर्यटनलाई विशेष जोड दिएको छ । नगरपालिकाले “कृषिबाट समृद्धि तथा कृषिबाट गरिवी निवारण, “गाउँमै बसौँ, गाउँमै रमाऔँ”, जैमिनी जाऔं, अर्गानिकसंग रमाऔं जस्ता आकर्षक नारा सहित नीति तथा कार्यक्रम बनाएको छ । कृषकहरुको बालीमा आकस्मिक प्राकृतिक प्रकोप वा अन्य कारणले क्षती भएमा राहतको लागि कृषक राहत तथा विपद् व्यवस्थापन गर्न ‘कृषक राहत कोष’ स्थापना गरि प्रभावकारी बनाउने नीति तथा कार्यक्रममा समावेश छ । ‘जैमिनी जाऔँ अर्गानिकतासँग रमाऔँ’ कार्यक्रम अन्तरगत अर्गानिक खेती प्रणाली तर्फ कृषकलाई आकर्षित गर्दै वातावरणमैत्री नमुना गाउँ निर्माण गर्ने गरिने भएको छ ।

शिक्षा तर्फ पढ्दै कमाउँदैको अवधारणालाई अगाडि बढाउनका लागि एक विद्यालय एक उत्पादन र विद्यालयमा करेसाबारीको व्यवस्था मिलाउने नीति कार्यक्रममा समावेश छ । सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा उत्कृष्ट उद्यमी अभिभावक सम्मान कार्यक्रम गर्ने व्यवस्था प्रभावकारी बनाइने भएको छ ।

विद्यालय बाहिर रहेका बालबालिकाहरुको तथ्यांक संकलन गरि अनिवार्य रुपमा विद्यालयमा भर्नासहित निःशुल्क र अनिवार्य शिक्षाको प्रत्याभूति गराउने र नगरपालिकाले सबै बालबालिकाहरुको बैंक खाता खोलिदिने भएको छ ।

जैमिनी नगरपालिका भित्रका शिक्षकहरु बीच अनुभव, सिप, क्षमता र सिकाईका विधि एवम् प्रबिधिको साटासाट गरि विद्यालयहरुमा उच्च सिकाइ उपलबधी हाँसिल गर्न पाहुना शिक्षक कार्यक्रमलाई अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाबाट प्रवाह भएका सेवा सुविधाहरु र संचालित योजनाहरुबाट नागरिकहरु सन्तुष्ट भए नभएको मापन गर्न नागरिक सन्तुष्टि मापन सर्भे गर्ने नीतिसमेत नगरपालिकाले ल्याएको छ ।

आगामी आर्थिक वर्ष ८०/८१ मा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने नीति लिएको जैमिनीले विपन्न नागरिक निशुल्क स्वास्थ्य बिमा कार्यक्रम, विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच समुदायसम्म विस्तार गर्न एकीकृत स्वास्थ्य शिविर, पाठेघरको निशुल्क अप्रेसनको व्यवस्था, किशोरकिशोरीलाई स्वास्थ्य संस्था र विद्यालयसंगको समन्वयमा विद्यालय नर्स कार्यक्रम संचालन गर्ने भएको छ । जैमिनी नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई सरल र सहज पहुँचका लागि ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापनादेखि नगरलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न ‘लिड स्कुल’को प्रारम्भिक कार्य गरी भौतिक, आर्थिक र शैक्षिक व्यवस्थापनमा जोड दिने भएको छ ।

पुरानो गाउँ क्षेत्रलाई कृषि क्षेत्रको संरक्षण, वन्यजन्तु व्यवस्थापन तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सम्बद्ध निकायसँग समन्वय गरी प्राकृतिक चिडीयाखाना तथा बाँदर बगैंचाको सम्भाव्यता अध्ययनसहितका कार्य अघि बढाइने, जैमिनीधाम, भैरवस्थान, गाजादह, हाडिकोट, पुरानो गाँउ, गाइथुने पुतलेगरालाई एकीकृत गरि पर्यटकीय पदैलमार्गको निर्माणसंगै पर्यटन रुटको विकास गर्ने, जडीबुटी उद्योग स्थापनाका लागि लगानी आकर्षित गर्ने जैमिनीको आगामी बर्षको नीति तथा कार्यक्रममा उल्लेख छ । नगर प्रमुख पुनले पेश गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

समय सिमालाई अन्तिम बनाएर आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरेको जैमिनीले यस बर्ष समय सिमा भन्दा अगाडि नै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कानुन अनुसार प्रत्येक स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सभाबाट पारित गराइसक्नुपर्ने प्रावधान छ । देशका अधिकांश स्थानीय तहले १० गते नै अधिवेशन गर्ने गरेका छन् ।

यस्तै बुधबार बसेको नगर सभाको बैठकले जैमिनी नगरपालिकाको शिक्षा ऐन पनि पारित गरेको छ । स्थानीय सरकारको एकल अधिकारमा सोहि ऐन लागु हुने गरी नगरपालिकाले शिक्षा ऐन पारित गरेको हो । विगत ६ बर्ष देखि नगर शिक्षा ऐन बनाउने तयारी गरेपनि संघीय शिक्षा ऐनको पर्खाइमा बसेको नगरपालिकाले संघीय शिक्षा ऐन आएपछि नबाँक्रिने तरिकाले शिक्षा ऐन पारित गरेको नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्यले जिल्लाखबर डटकमलाई जानकारी दिनुभयो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार