जैमिनीमा जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास तथा वाक कला तालिम सुरु

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १९ असार २०८० ।

बागलुङको जैमिनीमा जनप्रतिनिधिहरुका लागि दुई दिने नेतृत्व विकास तथा वाक कला तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बागलुङको आयोजना र जैमिनी नगरपालिकाको समन्वयमा मंगलबारबाट दुई दिने तालिम सुरु भएको हो ।

जनप्रतिनिधिहरुमा नेतृत्व गर्न सक्ने क्षमता विकास गर्न र आफ्ना धारणाहरु सहज रुपमा राख्न सक्ने बनाउनका लागि तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ बागलुङकी कार्यवाहक अध्यक्ष सरिता खत्रीले जानकारी दिनुभयो । जैमिनी नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको लागि नेतृत्व विकास तथा वाक कला तालिम सञ्चालन गरिएको उहाँको भनाई छ ।

कार्यक्रमको सहजिकरण गर्दै बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेता र नेतृत्वमा धैर्य गर्ने र सहन सक्ने क्षमता हुनुपर्ने बताउनुभयो । नेतृत्व विकास र सिप विकास सम्बन्धी प्रशिक्षण दिँदै उहाँले नेतृत्वले कमजोरी स्विकार गर्न र सच्याउन सक्ने तागत राख्नुपर्नेमा जोड दिनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले नेतृत्वमा आइसकेपछि यसलाई सफल अवतरण गराउन सक्नु नै सफलता भएकाले नगरपालिकाका जनप्रतिनिधिहरुलाई क्षमता विकासको तालिम प्रदान गरिएको बताउनुभयो । जनतासम्म गएर बुझाउन सक्ने क्षमता हुने जनप्रतिनिधिहरु विवादित नबन्ने भन्दै उहाँले नेतृत्व गर्नेहरुले आफ्ना कुरा बुझाउन सक्नुपर्नेमा ध्यान दिन आग्रह गर्नुभयो ।

 

यस्तै जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले नेतृत्व गर्नेहरु सक्षम नभए त्यसबाट आउने परिणाम ठिक नहुने भएकाले नेतृत्व लिनेहरु सक्षम बन्नुपर्ने बताउनुभयो । नीति निर्माण गर्ने तहमा जनप्रतिनिधि हुने भएकाले जनप्रतिनिधिहरु अझै क्षमतावान र दक्ष हुनुपर्ने उहाँको भनाई छ ।

तालिममा जैमिनी नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिममा जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल र नेपाल पत्रकार महासंघ कास्कीका पुर्वअध्यक्ष दिपेन्द्र श्रेष्ठले सहजीकरण गर्ने पत्रकार महासंघ बागलुङका सचिब बिजय रानाले जानकारी दिनुभयो । तालिम बुधबारसम्म सञ्चालन हुने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो