जैमिनीमा नेतृत्व विकास तथा वाक कला तालिम सम्पन्न, बाेल्नेहरूनै सफलतामा पुग्ने विश्वास

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २० असार २०८० ।

बागलुङको जैमिनीमा जनप्रतिनिधिहरुका लागि दुई दिने नेतृत्व विकास तथा वाक कला तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बागलुङको आयोजना र जैमिनी नगरपालिकाको समन्वयमा मंगलबारबाट सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो ।

जनप्रतिनिधिहरुमा नेतृत्व गर्न सक्ने क्षमता विकास गर्न र आफ्ना धारणाहरु सहज रुपमा राख्न सक्ने बनाउनका लागि तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ बागलुङकी कार्यवाहक अध्यक्ष सरिता खत्रीले जानकारी दिनुभयो । जैमिनी नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको लागि नेतृत्व विकास तथा वाक कला तालिम सञ्चालन गरिएको उहाँको भनाई छ ।

कार्यक्रमको सहजिकरण गर्दै नेपाल पत्रकार महासंघ कास्कीका पुर्वअध्यक्ष दिपेन्द्र श्रेष्ठले बोल्न सक्ने विकास गर्नको लागि पहिला आफू तयार हुनुपर्ने बताउनुभयो । आफ्नो क्षमता विकास गर्न र सक्षम वक्ता बन्नको लागि भित्रैबाट डर हटाएर बोल्ने हो भने व्यक्तित्व विकास हुँदै जाने भन्दै उहाँले विषयवस्तुमा आधारित रहेर बोल्ने हो भने समस्या नहुने कुरामा जोड दिनुभयो । शारिरीक हाउभाउ सहित बोलीमा मिठास ल्याउनका लागि हरेक समय प्रयास गर्न सहभागीहरुलाई उहाँले आग्रह गर्नुभयो ।

यस्तै अर्का सहजकर्ता बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेता र नेतृत्वमा धैर्य गर्ने र सहन सक्ने क्षमता हुनुपर्ने बताउनुभयो । नेतृत्व विकास र सिप विकास सम्बन्धी प्रशिक्षण दिँदै उहाँले नेतृत्वले कमजोरी स्विकार गर्न र सच्याउन सक्ने तागत राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले सिक्नुपर्ने कुरा धेरै हुने भएकाले सिकाई कहिलै पूर्ण नहुने बताउनुभयो । सिकाईले थप सक्षम र क्षमतावान बनाउने भन्दै उहाँले सिकेका कुरा व्यवहारमा लागु गर्न सके मात्रै उपलब्धीमूलक हुने भएकाले सिकेका कुराको भरपुर प्रयोग गर्न सुझाव दिनुभयो ।

उप प्रमुख हरिहर शर्माले तालिम निकै प्रभावकारी भएको बताउनुभयो । नेतृत्वमा आइसकेपछि यसलाई सफल अवतरण गराउन सक्नु नै सफलता भएकाले नगरपालिकाका जनप्रतिनिधिहरुलाई क्षमता विकासको तालिम प्रदान गरिएको उहाँको भनाई छ । जनतासम्म गएर बुझाउन सक्ने क्षमता हुने जनप्रतिनिधिहरु विवादित नबन्ने भन्दै उहाँले नेतृत्व गर्नेहरुले आफ्ना कुरा बुझाउन सक्नुपर्नेमा ध्यान दिन आग्रह गर्नुभयो ।

यस्तै जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले यस्ताखाले तालिमले जनप्रतिनिधिहरुको क्षमता विकास र आफ्ना कुरा राख्न सक्ने क्षमता बृद्धि हुने भएकाले सिकेका कुरा प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । नेतृत्व गर्नेहरु सक्षम नभए त्यसबाट आउने परिणाम ठिक नहुने भएकाले नेतृत्व लिनेहरु सक्षम बन्नुपर्ने उहाँको भनाई छ । नीति निर्माण गर्ने तहमा जनप्रतिनिधि हुने भएकाले जनप्रतिनिधिहरु अझै क्षमतावान र दक्ष हुनुपर्ने भन्दै उहाँले कुशल नेतृत्वले बुझाउन सक्ने क्षमता राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमका सहभागीहरुले तालिम निकै प्रभावकारी भएकाले यसको पूर्ण उपयोग हुने बताएका छन् । जनप्रतिनिधि भएपनि धेरै कुरा सिक्नुपर्ने भन्दै उनीहरुले जनतासम्म जाने सरल तरिका बुझ्न पाएकोमा खुशी लागेको बताए । तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षक तथा तालिममा सहयोग गर्नेहरुलाई नेपाल पत्रकार महासंघ बागलुङ शाखाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो