जैमिनीमा सिकाई परियोजना कार्यक्रम प्रभावकारी बन्दै, समुदायमा पुग्छन ठूली दिदी

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, २२ असार २०८० ।

बागलुङको जैमिनीमा सिकाई परियोजनाको ठूली दिदी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विपन्न र सिमान्तकृत विद्यार्थीलाई विद्यालय पहुँचमा ल्याउन ठूली दिदी कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

स्थानीय सेवा प्रदायक संस्था भीमपोखरा युवा क्लब (बिवाइसी) बागलुङको समन्वयमा सञ्चालित सिकाई परियोजना कार्यक्रम जैमिनी नगरपालिकाका ३३ वटा विद्यालयमा सञ्चालन भैरहेको बिवाइसी बागलुङका अध्यक्ष मनिभद्र शर्माले जानकारी दिनुभयो । सामुदायिक स्वयंसेवकको रुपमा रहेका ठूली दिदीले घरदैलोमा परामर्श दिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका विपन्न र सिमान्तकृत विद्यार्थी नियमित रुपमा स्कुल आउन थालेको उहाँको भनाई छ । बिवाइसी बागलुङले पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रममा अध्यक्ष शर्माले सिकाई परियोजना अन्तर्गत जैमिनीका १ सय ४ जना विद्यार्थीलाई विद्यालय ल्याउन सफल भएको बताउनुभयो । यी विद्यार्थीहरु अहिले नियमित विद्यालय आउने गरेका छन् ।

सिकाई परियोजना लागु भएको जैमिनी नगरपालिका वडा नं २ दमेक पिपलडाँडामा अवस्थित ज्ञानज्योति प्राथमिक विद्यालयका  प्रधानाध्यापक टिकाराम सापकोटाले ठूली दिदी कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो । यो कार्यक्रमले विद्यार्थीहरुलाई नियमित विद्यालय आउन प्रेरित गर्नुका साथै न्युन आय भएका विद्यार्थीहरुलाई सहयोग गर्ने भएकाले शिक्षण सिकाईमा समेत प्रगति भएको उहाँको भनाई छ ।

परियोजनाको तर्फबाट जैमिनीका विद्यालयहरुलाई विविध सामग्री सहयोग गरिएको छ । अग्नी नियन्त्रक यन्त्र देखि विद्यार्थीहरुका लागि पोशाक र स्टेशनरी समेत सहयोग हुँदै आएको छ । विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई नियमित विद्यालय जान प्ररित गर्ने, सूचना सम्प्रेषण गर्ने र अभिमूखिकरण गर्दै आएको परियोजनाले अभिभावक सचेतना कार्यक्रमहरु पनि सञ्चालन गर्ने गरेको छ । जिल्लाखबर डटकमलाई बताइए अनुसार सिकाई परियोजनाले सिकाई उपलब्धी बढाउन र शिक्षाको गुणस्तर अभिवृत्तिका लागि सहयोग गर्दै आइरहेको छ ।

यो कार्यक्रम बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा पनि सञ्चालित छ । काठेखोला गाउँपालिकाका २७ विद्यालयमा सिकाई परियोजना अन्तरगत ठूली दिदी राखिएको छ । दुबै पालिकाका ६० विद्यालयमा सञ्चालित कार्यक्रममा ६० ठूली दिदीहरु खटिएका छन् । जसका कारण दुबै पालिकाका १ सय ९४ विपन्न र सिमान्तकृत बाल बालिकालाई विद्यालयमा नियमित गराउन परियोजना सफल भएको अध्यक्ष शर्माले बताउनुभयो । काठेखोलाका ९० विद्यार्थी यो कार्यक्रमबाट लाभान्वित भएका छन् भने उनीहरु नियमित विद्यालय आउन थालेका छन् ।

सामुदायिक स्वयंसेवकले विद्यार्थी अभिभावक र विद्यालयलाई जोड्ने काम गरेको सिकाई परियोजनाका कार्यक्रम संयोजक पोष्ट केसीले जानकारी दिनुभयो । विपन्न र सिमान्तकृत विद्यार्थीलाई विद्यालयमा नियमित गर्न ६० ठूली दिदीहरुले करिब ५ हजार पटक घरदैलो कार्यक्रम गरेको उहाँको भनाई छ । सामुदाय स्तरको अभिभावक सचेतना कार्यक्रम असल अभ्यासको रुपमा स्थापित भएको भन्दै उहाँले परियोजनाको प्रमुख उपलब्धिको रुपमा रहेको यो कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो ।

हेम्पेल फाउन्डेसन र भिएसओ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमबाट कक्षा १ देखि ५ सम्मका ७ हजार २ सय विद्यार्थी लाभान्वित भएका छन् । परियोजनाले २ हजार ४ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ भने बालबालिका समावेशी शिक्षा सञ्जाल गठन गर्नुका साथै स्थानीय पाठ्यक्रम निर्माणमा समेत सहयोग पुराउँदै आएको छ । स्थानीय पाठ्यक्रम निर्माणको लागि परियोजनाले पालिकाहरुमा कार्यशाला समेत गरेको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो