बरेङको योजना खाताः उपभोक्ता समितिलाई सहज, पालिका झण्झटमुक्त

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, १२ साउन २०८० ।

बागलुङको बरेङ गाउँपालिकाले उपभोक्ता समितिहरुको लागि सञ्चालन गरेको योजना खाता प्रभावकारी बन्दै गएको छ । गाउँपालिकामा विगतको बर्ष देखि सुचारु भएको योजना खाता प्रभावकारी बन्दै गएको हो ।

उपभोक्ता समितिले लेख्ने निवेदन देखि भरपाई सम्म सोहि खातामा हुने भएकाले उपभोक्ता समितिहरुको लागि सहज भएको योजना शाखा प्रमुख राजन चालिसेले जिल्लाखबर डटकमलाई बताउनुभयो । “बरेङ गाउँपालिकाबाट सञ्चालित योजनाका उपभोक्ता समितिहरुले कागजातको लागि एक रुपैयाँ पनि खर्च गर्नुपर्दैन” चालिसेले भन्नुभयो “समितिले २÷३ सय रुपैयाँको एउटा छाप मात्रै बनाए हुन्छ बाँकी सबै कागजात किताबमा नै हुन्छ” ।

बरेङ गाउँपालिकाले उपभोक्ता समितिको स्टाम्प समेत बनाइदिने तयारी गरेको भएपनि त्यसको लागि दक्ष कर्मचारी सँधै नहुँदा समस्या पर्न सक्ने देखेर सो कार्य भने स्थगित गरेको थियो । योजना किताब भित्र उपभोक्ता समितिले योजना सम्झौता गर्दा देखि अन्तिम भुक्तानी लिन अथवा योजना फरफारक गर्दा चाहिने सबै कागजातहरु समावेश गरिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर रानाले बताउनुभयो । उपभोक्ताहरुलाई सहज होस् र थप आर्थिक भार नपरोस् भनेर योजना खाता सञ्चालनमा ल्याइएको उहाँको भनाई छ ।

उपभोक्ताले दिनुपर्ने भुक्तानीको भरपाई, वडाको सिफारिस, निवेदन लगाएत सबै कागजात किताबमा नै समेटिएको छ । बरेङ गाउँपालिकाले प्रत्येक उपभोक्ता समितिहरुलाई एक एक थान किताब दिइने र कसरी प्रयोग गर्ने भनेर अभिमुखिकरण समेत गर्ने गरेको छ ।

उपभोक्ता समितिका पदाधिकारीहरुले योजना किताबले निकै सहज बनाएको बताएका छन् । किताबमा बुझ्ने तरिकाबाट लेखिदिएको र आफूले आवश्यक विवरण मात्रै भरे हुने भएकाले यो किताब प्रभावकारी भएको उनीहरुको भनाई छ । गाउँपालिकाले योजना किताब ल्याउँदा उपभोक्ता समितिहरुको खर्च पनि जोगिएको र यसले गुणस्तरीय काम हुनको लागि पनि टेवा पुराउने बरेङबासीहरुको विश्वास छ ।

किताबमा समितिको माइन्युट देखि टिप्पणी आदेश सम्मका विवरणहरु राखिएकाले उपभोक्ताहरुलाई समितिमा रहेर काम गर्न सहज भएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो । समितिको हुने अनावश्यक खर्च र झण्झटलाई समेत मध्यनजर गर्दै योजना किताब बनाइएको भन्दै उहाँले यसलाई अझैपनि उपभोक्ता मैत्री बनाउन परिस्किृत गर्दै लैजाने जानकारी दिनुभयो । योजना किताब भएपछि उपभोक्ता समितिले कुनै कागज हराउने, पुरा नगर्ने समस्या नहुने भएकाले पालिकाले पनि सेवाग्राहीलाई कागजात नपुगेको आधारमा फर्काउनुपर्ने र कागजात खोज्नुपर्ने झझटबाट पालिका समेत मुक्त भएको छ ।

योजनाको प्राविधिक मूल्याङ्कन, लागत स्टमेट देखि विल भरपाई राख्ने ठाउँ समेत राखिएको र सो ठाउँमा संकेत समेत गरिएकाले उपभोक्ता समिति झण्झटमुक्त हुने प्राविधिक प्रमुख कृष्ण बहादुर थापाले बताउनुभयो । पालिकाको योजनामा बसेर काम गर्ने समितिलाई समस्या भन्दा हौसला दिएर गुणस्तरीय काम गराउने तर्फ गाउँपालिका लागेको भन्दै उहाँले समितिको अनावश्यक खर्च र झण्झटले काम ढिलो हुने र सम्पन्न नहुने समस्या नरहने बताउनुभयो ।

बरेङ गाउँपालिकाले सुशासन र पारदर्शिताको क्षेत्रमा विभिन्न काम गर्दै आएको छ । सेवाग्राही सन्तुष्टि फाराम देखि प्रत्येक कार्यक्रमको सार्वजनिक सूचना प्रवाह गर्दै आएको गाउँपालिकाले टोल टोलमा नै पुगेर योजना सम्झौता गर्ने र अन्तिम भुक्तानीको लागि समेत उपभोक्ता समितिका पदाधिकारी पालिकासम्म आउनुपर्ने बाध्यतालाई हटाएको छ । गाउँपालिकाले उपलब्ध गराएको योजना किताबमा सबै विवरण भरेर अन्तिम मूल्याङ्कन गर्न जाने प्राविधिक वा गाउँपालिकाले राखेको घुम्ती सेवामा उपभोक्ता समितिको नाममा रहेको खाता विवरण वा चेकको फोटोकपी दिएपछि समिति पालिकामा नगएपनि समितिको खातामा रकम भुक्तानी हुने व्यवस्था रहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो