जैमिनीमा कार्यपालिका बैठक सहित समिक्षा सम्पन्न, गत आ.व मा ८२ प्रतिशत प्रगति

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
बागलुङ, २९ साउन २०८० ।

बागलुङको जैमिनी नगरपालिकामा कार्यपालिका बैठक सहित बार्षिक समिक्षा गरिएको छ । आइतबार र सोमबार आर्थिक बर्ष २०७९/८० मा भएका योजना तथा कार्यक्रमको विषयमा समिक्षा गरिएको हो ।

आइतबार कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा गत आर्थिक बर्षमा भएका काम र गतिविधिको बारेमा प्रस्तुतिकरण र समिक्षा गरिएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो । समिक्षामा जैमिनी नगरपालिकाका विभिन्न शाखाहरुबाट भएका काम कारवाहीको बारेमा शाखा प्रमुख कर्मचारीहरुले कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगरपालिकाको योजना सम्बन्धमा योजना शाखा प्रमुख प्रेम प्रसाद सापकोटा, शिक्षा युवा तथा खेलकुद सम्बन्धमा शाखा प्रमुख खेम प्रसाद आचार्य, स्वास्थ्य सम्बन्धी शाखा प्रमुख गोविन्द प्रसाद आचार्य, आर्थिक तथा वित्तीय प्रगति सम्बन्धी आर्थिक प्रशासन शाखा प्रमुख सुर्य बहादुर विक र कृषि सम्बन्धी शाखा प्रमुख निर्मल सापकोटाले आर्थिक बर्ष २०७९/८० मा भएका कार्यप्रगतिको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

यस्तै प्राविधिक र विपदव्यवस्थापन फाँटबाट भएका कार्य प्रगतिको बारेमा प्राविधिक प्रमुख विवेक सापकोटा, पञ्जिकरण तथा सामाजिक सुरक्षा तर्फ भएका कार्यप्रगतिको बारेमा एमआइएस अपरेटर तारा प्रसाद पौडेलले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समिक्षा कार्यक्रममा पशु शाखा प्राविधिक कृष्ण प्रसाद ढकालले पशुपंक्षी क्षेत्रमा भएका कार्य सम्बन्धी, गरिवी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम सम्बन्धी भएका कार्यक्रमको बारेमा फोकल पर्सन सरिता शर्मा र सामाजिक विकास क्षेत्रमा भएका कार्यको विषयमा महिला तथा बालबालिका शाखा प्रमुख देवि सुनारले गत आर्थिक बर्षमा भएका कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

यसैगरी आर्युवेदको क्षेत्रका विषयमा आयुर्वेद शाखाका प्रमुख डाक्टर लक्ष्मी प्रसाद शर्मा, रोजगार सेवा केन्द्रका गतिविधिको बारेमा शाखा प्रमुख सुरेश पुन र न्यायिक क्षेत्रमा भएका काम कारवाहीको बारेमा सुरेश ओलीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

जैमिनी नगरपालिकाले आर्थिक बर्ष २०७९/८० मा ८२ प्रतिशत भौतिक प्रगति गरेको छ भने ८२.११ प्रतिशत वित्तीय प्रगति गरेको छ । स्थानीय पाठ्यक्रम निर्माण, दरवन्दी मिलान र शिक्षा ऐनलाई जैमिनीले गत शिक्षा क्षेत्रमा भएको मूख्य उपलब्धी मानेको छ । समुदायमा स्वास्थ्य शिविर, नागरिक आरोग्य सेवा र रोग पहिचान, सुरक्षित मातृत्व सेवा लगाएतका सेवाहरु नगरपालिकाले उपलब्धीको प्राथमिकतामा राखेको छ ।

खरका छाना विस्थापन, घरवार बिहिनहरुका लागि घर निर्माण, रोजगार सेवा केन्द्र मार्फत श्रम स्विकृति र सिपमूलक तालिम प्रदान, लघुउद्यम कार्यक्रम मार्फत व्यवसाय र स्वरोजगारमा लाग्न सहयोग गरिएको विषय नगरपालिकाको उपलब्धीमा परेको छ । जैमिनीले गत आर्थिक बर्षमा कुल १८ करोड ६० लाख ४७ हजार ४ सय ६२ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विपद व्यवस्थापनको क्षेत्रमा नगरपालिकाले ५६ जनालाई ३ सय ४ थान तारजाली वितरण गरेको छ भने कुल २ सय १७ जनालाई विभिन्न प्रकृतिका विपदले पुराएको क्षतिबापत राहत प्रदान गरेको छ ।

कार्यपालिका सदस्य र वडाध्यक्षहरुको सहभागिता रहेको कार्यक्रममा कार्यपालिका सदस्य चिन्तामणी दर्जी, वडा नं ७ का वडाध्यक्ष केन्द्र बहादुर सुनार, कार्यपालिका सदस्य लाल बहादुर परियार, वडा नं २ का वडाध्यक्ष प्रेम सापकोटा, वडा नं ३ का वडाध्यक्ष कृष्ण भुजेल र कार्यपालिका सदस्य भगवती सापकोटाले नगरपालिकाले गर्ने कतीपय योजनाहरु प्रभावकारी नभएको, वितरण गरिएका विउ तथा सामग्रीहरु गुणस्तरीय नभएको, सरकारी सेवामा रहेकाहरुले आचरण सुधार गर्नुपर्ने, सम्पन्न गर्न सकिने कार्यक्रमको बारेमा समन्वय नगर्दा त्यस्ता योजना फिर्ता गएको, शिक्षा र स्वास्थ्यमा नागरिक सन्तुष्ट हुन नसकेको लगाएतका प्रश्न तथा जिज्ञासा राख्नुभएको थियो ।

सोमबार जैमिनीको कार्यपालिका बैठक बसेको छ । कार्यपालिका बैठकले समिक्षा बैठकमा पेश भएका कार्यप्रगतिको बारेमा मूल्याङ्कन गरेको नगरपालिका श्रोतले जनाएको छ । कार्यक्रममा नगर प्रमुख नर बहादुर पुनले गत आर्थिक बर्षमा भएका योजना र कार्यक्रम सम्पन्न पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार