सिवाईसी सहकारीको १४ औँ बार्षिक साधारणसभा जैमिनीमा सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ९ मंसिर २०८० ।

सिवाईसी बचत तथा ऋण सहकारी संस्था जैमिनी सेवाकेन्द्र कुश्मिसेराको १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार जैमिनी नगरपालिका १ कुश्मिसेरामा इकाईगत रुपमा जैमिनी सेवाकेन्द्रको साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा जैमिनी सदस्य सेवा केन्द्र कुश्मिसेराका सेवाकेन्द्र प्रमुख ज्योति मल्लले सेवाकेन्द्रको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पुष्पा शर्माले कोषाध्यक्षको प्रतिवेदन र जैमिनी सदस्य सेवा केन्द्र कुश्मिसेराका सचिव सुजन प्रेमी सुवेदीले कार्यक्रम सञ्चालन गरेकाले प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा पेश भएका सबै प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित भएको जैमिनी सदस्य सेवाकेन्द्रका संयोजक कृष्ण प्रसाद रिजालले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले सिवाईसी सहकारीले सदस्यहरुको् लागि धेरै सुविधाहरु प्रदान गरिरहेकाले यस्तो खाले सहकारी सदस्यमैत्री हुने बताउनुभयो । पछिल्लो समय बागलुङ जिल्लामा सहकारीको क्षेत्रमा गएको नकारात्मक सन्देशलाई सिवाईसी सहकारीले चिर्नुपर्ने भन्दै उहाँले सदस्यहरुले पनि संस्थाको बारेमा चासो राख्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै जैमिनी नगरपालिका १ नं वडाका वडाध्यक्ष विष्णु प्रसाद आचार्यले् सहकारी संस्थाहरुलाई नियमित रुपमा सदस्यहरुले निगरानी राख्ने र खबरदारी गर्ने हो भने समस्या नआउने बताउनुभयो । सिवाईसी सहकारीले एउटा छाप छोडिसकेकाले यसप्रति जनताको विश्वास कायम नै रहेको उहाँको भनाई छ ।

बार्षिक साधारणसभाको अवसरमा, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट उद्यमी, उत्कृष्ट बाल बचतकर्ता र उत्कृष्ट शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरिएको छ । यस्तै संस्थाको नीति अनुसार ८० बर्ष पुगेका ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारका लागि ५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ । कार्यक्रमको अवसरमा संस्थाका पूर्व सेवाकेन्द्र प्रमुख बाबुराम आचार्यलाई सम्मानपत्रले सम्मान गरिएको थियो भने पूर्व कर्मचारीहरु हेमराज आचार्य र रुपा जिसीलाई पनि सम्मान गरिएको छ ।

यता सिवाईसी बचत तथा ऋण सहकारी संस्था अर्जेवा सेवाकेन्द्रको १४ औं साधारणसभा पनि शनिबार नै सम्पन्न भएको छ । जैमिनी नगरपालिका ६ अर्जेवामा भएको कार्यक्रममा सेवाकेन्द्रका सचिव वेम कुमारी थापाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सेवाकेन्द्रका कोषाध्यक्ष झमन बहादुर थापाले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो । सचिव र कोषाध्यक्षले पेश गरेको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

यसअघि शुक्रबार मंगल सदस्य सेवा केन्द्र जैमिनी ७ जैदीमा सेवाकेन्द्र स्तरीय बार्षिक साधारणसभा गरिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार