बरेङ र जैमिनीका कर्मचारीहरुले निजामती दिवस नमनाउने, कालोपट्टी बाँधेर बिरोध

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २२ भदौ २०८० ।

बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा कार्यरत कर्मचारीहरूले निजामती सेवा दिवस नमनाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज भदौ २२ गते दिवस मनाउन पत्राचार गरेपनि जैमिनी र बरेङमा कार्यरत निजामती सेवा अन्तर्गत स्थानीय तहका कर्मचारीहरुले यो दिवस नमनाउने भएका हुन् ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई सेवा सुविधा तथा वृत्ति विकासको सुनिश्चितता नभएको र प्रस्तावित निजामती सेवा ऐनको परिभाषामा समेत नसमेटिएको अवस्थामा दिवस मनाउन उपयुक्त नदेखिएकाले निजामती सेवा दिवसको अवसरमा कुनैपनि कार्यक्रम नगर्ने र विरोध स्वरुप यो दिवस नमनाउने निर्णय भएको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो । जैमिनीमा कार्यरत कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने शासन प्रणालीको प्रशासनिक संरचनामा तिनै तहको कर्मचारीहरूको अत्यन्तै महत्वपूर्ण भूमिका रहेकोमा कर्मचारीहरु विच विभेद गरिएकाले दिवस नमनाउने जानकारी सहित मन्त्रालयमा सुझाव पेस गरिएको उहाँको भनाई छ ।

बिहिबार कर्मचारीहरुले संयुक्त विज्ञप्ति निकालेर निजामती दिवस नमनाउने र विराेध स्वरुप कालोपट्टी बाँध्ने निर्णय गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत समक्ष बुझाइएको विज्ञप्तिमा कर्मचारीहरुले आफूहरुलाई विभेद गरिएको उल्लेख गरेका छन् । हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तयार भइ मन्त्रिपरिषद्बाट संसदमा पेस गर्न निर्णय भएको संघीय निजामती ऐनको मस्यौदामा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको मानमर्दन हुने गरी विभेदपूर्ण मस्यौदा तयार भएको कर्मचारीहरूले बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा दिवसका सन्दर्भमा देशका सबै स्थानीय तहहरूलाई परिपत्र गरेको तर स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई सेवा सुविधा तथा वृत्ति विकासको सुनिश्चितता नभएको र प्रस्तावित निजामती सेवा ऐनको परिभाषामा समेत नसमेटिएको अवस्थामा स्थानीय तहमा कार्यरत कर्मचारीहरूले प्राकृतिक रूपमा समेत निजामती सेवा दिवस मनाउन नसकिने विज्ञप्तिमा उल्लेख छ ।

दिवसको दिनमा नगरपालिका कार्यालयमा कार्यरत स्थानीय सेवाका कर्मचारीहरूले निजामती दिवस बहिस्कार गर्नुका साथै विरोध स्वरूप हातमा कालो पट्टि बाँध्ने निर्णय गरेका छन् । यस बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण सहित प्रस्तावित सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा समावेश गरिनुपर्ने आफ्ना मागहरू पनि कर्मचारीहरूले प्रस्तुत गरेका छन् ।

ती मागहरू संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्वार सङ्घीयताको मुटु मानिने स्थानीय सेवामा मात्र हुने र बढुवा मार्फत संघीय निजामती सेवा तथा प्रदेश निजामती सेवामा जाने प्रावधान राखिनुपर्ने, सरुवा प्रणालीलाई सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रीय प्रणालीमा आधारित हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको लागि अन्तर प्रदेश सरुवाको व्यवस्था एकीकृत निजामती सेवा ऐनमा नै खुलाउनुपर्ने रहेका छन् ।

यस्तै हाल सञ्चालनमा रहेको निजामती अस्पतालमा सबै सरकारी कर्मचारीहरूलाई समेट्नु पर्ने तथा तत्काल सेवा लिन पाउने सुनिश्चितता गर्नुपर्ने, सङ्घ प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा तथा वृत्ति विकास सम्बन्धमा विभेद नभइ समान हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय निजामती सेवाकै हुनुपर्ने र स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने उनीहरूको माग छ ।

विज्ञप्तिमा कर्मचारीहरुको पेशागत संघ संगठनको तर्फबाट नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति बागलुङका सह–सचिव मोहन कुमार केसी, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङका सदस्य नेत्र प्रसाद शर्मा र नेपाल निजामती कर्मचारी युनियन जैमिनी नगर अध्यक्ष रामकृष्ण पौडेल सहित नगरमा कार्यरत कर्मचारीहरुको हस्ताक्षर रहेको छ ।

यता बरेङ गाउँपालिकामा कार्यरत कर्मचारीहरुले पनि निजामती दिवस नमनाउने निर्णय गरेका छन् । उनीहरुले स्थानीय कर्मचारीहरुको सेवा सुविधा सम्वन्धी व्यवस्था नभए सम्म निजामती सेवा दिवस नमनाउने निर्णय गरेका हुन् । कर्मचारीहरुले सम्वन्धीत निकायको ध्यानाकर्षण सहित आफ्ना मागहरु सम्बोधन गर्न विज्ञप्ति निकालेका छन् । प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर रानालाई बुझाइएको विज्ञप्तिमा सुझाव सहित माग गरिएका बुँदाहरु समेटिएका छन् ।

जैमिनीमा कार्यरत कर्मचारीहरूकाे विज्ञप्ति

No description available.

 

बरेङ गाउँपालिकामा कार्यरत कर्मचारीहरूकाे विज्ञप्ति


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो