बागलुङ, २५ कात्तिक २०८० ।
गण्डकी प्रदेशका सांसद लिल बहादुर थापाले चाडवाडलाई सभ्य रुपमा मनाउन आग्रह गर्नुभएको छ । शुक्रबार सुनौलो बागलुङले कुश्मिसेरामा आयोजना गरेको संस्थागत देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पछिल्लो समय चाडवाडलाई संस्कृतिको रुपमा भन्दा पनि देखासिकी गर्ने क्रम बढ्दै गएको भन्दै उहाँले चाडवाडबाट कुनै पनि दुर्घटना सिर्जना हुन नहुनेमा जोड दिनुभयो । जैमिनीमा पछिल्लो समय ठुला मेलाहरु मर्यादित र व्यवस्थित बन्दै गैरहेकाले देउसी भैलोको नाममा विकृति निम्तिन नहुने उहाँको भनाई छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहनुभएका सांसद थापाले सुशासन कायम गर्न समाजका सबै नागरिकहरुको उत्तिकै भूमिका हुनुपर्ने धारणा राख्नुभयो ।
सोहि कार्यक्रममा जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले चाडवाडले नेपालीको पहिचान दिने भएकाले यसलाई संस्थागत गर्न जरुरी रहेको बताउनुभएको छ । पछिल्ला पुस्ताहरुलाई हस्तान्तरण गर्न सकिने गरी संस्कृतिको जगेर्ना गर्नुपर्ने भन्दै उहाँले जैमिनी नगरपालिकामा विभिन्न संस्कृति भएकाले यसलाई संरक्षण गनुपर्नेमा जोड दिनुभयो ।
यस्तै उप प्रमुख हरिहर शर्माले जैमिनीमा पछिल्लो समय युवाहरु नै संस्कृति संरक्षणमा लागिरहेकाले यसले सकारात्मक सन्देश दिने बताउनुभयो । युवाहरुले पुरानो संस्कृति र परम्परालाई जोगाइराख्ने हो भने नेपाली पहिचान र संस्कृति संरक्षण हुने उहाँको भनाई छ ।


जैमिनीको मुख्य बजार कुश्मिसेरामा शुक्रबारबाट संस्थागत देउसीभैलो सुरु भएको छ । अखिल नेपाल युवक संघ, मेलमिलाप समुह र सुनौलो बागलुङले कुश्मिसेरामा देउसी भैलो सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहाेस्