सुजन प्रेमी सुवेदी
नुवाकोट, ३० साउन २०८२ ।
नुवाकोटको बेलकोटगढीमा अकबरे खुर्सानी खेतीमा कृषक आकर्षित भएका छन् । गत बर्ष बेलकोटगढी नगरपालिकाले अनुदानमा अकवरे खुर्सानीको बेर्ना वितरण गरेर कृषक प्रोत्साहन गरेपछि यसतर्फ किसान आकर्षित भएका हुन् ।
गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले ७५ प्रतिशत अनुदानमा १ लाख १२ हजार बेर्ना वितरण गरेर किसानलाई अकवरे खुर्सानीको व्यवसायिक खेतीतर्फ आकर्षण गरेको बेलकोटगढी नगरपालिकाका कृषि प्राविधिक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकामा रहेका कृषक समूह, सहकारी तथा कृषि समूहहरु मार्फत प्रत्येक किसानसम्म बेर्ना पुर्याउन प्रयास गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा पनि किसानहरुको माग संकलन गरेर यसको खेतीलाई अझै व्यवसायिक बनाउने योजना रहेको उहाँको भनाई छ ।
नगरपालिकाको १३ वटै वडाका कृषकहरुलाई बेर्ना वितरण गर्ने लक्ष्य राखिएपनि वडा नं २, वडा नं ३, वडा नं ४, वडा नं ९, वडा नं १०, वडा नं ११ र वडा नं १२ मा कृषकहरुले व्यवसायिक रुपमा अकवरे खुर्सानीको खेती गरेका छन् । बजारमा माग पनि बढ्दो भएको र मूल्य पनि पर्ने भएकाले कृषकहरु यसतर्फ आकर्षित भएका श्रेष्ठको बनाई छ । केहि किसानहरुले चैतमा नै उत्पादन गरेर राम्रो मूल्य पार्न सफल भएकाले यो वर्ष छिटोगरि बेर्ना वितरण गर्ने तयारी नगरपालिकाको छ ।
औषधीय गुण भएको अकवरे खुर्सानीको मूल्य अन्य खुर्सानीको तुलनामा बढि छ । अहिले कालीमाटी तरकारी बजारमा अकवरे खुर्सानी प्रतिकिलो १ सय पचास देखि २ सय रुपैयाँसम्ममा विक्रि हुँदै आएको छ । बाँदर लगायत जंगली जनावरले पनि नष्ट गर्न नसक्ने खुर्सानी खेतीले दोहोरो फाइदा पुगेको कृषकहरुले बताएका छन् ।