नेपालमा अनौठो घटना: एक व्यक्ति मोटरसाइकलको ट्यांकी बोकेर पेट्रोल भर्न आए

अर्घाखाँची, २ चैत २०८२ ।

एक व्यक्ति मोटरसाइकलको ट्यांकी बोकेर पेट्रोल भर्न आएका छन् । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सोमबार एक युवक आफ्नो मोटरसाइकलको ट्यांकी नै हातमा बोकेर पेट्रोल भर्न आएका हुन् । सन्धिखर्क–१ शान्ति बगैँचा नजिक रहेको भुसाल पेट्रोल पम्पमा एक युवकले बाइक होइन, बाइकको ट्यांकी मात्र लिएर पेट्रोल हाल्न आएका थिए । पम्पका कर्मचारीले पनि त्यही ट्यांकीमा तेल हालिदिएका छन् ।

पछिल्ला केही दिनदेखि मध्यपूर्वमा चर्किएको तनावका कारण अर्घाखाँचीमा पनि पेट्रोलियम पदार्थको अभाव हुनसक्ने हल्ला फैलिएको थियो । यही हल्लाका कारण धेरै मानिसले जर्किन, बोतल र विभिन्न भाँडामा तेल भरेर घरमा स्टक राख्न थालेका थिए । कसैले हाँसोको विषय बनाए । कसैले यसलाई हल्ला र अभावको डरले मानिसहरूले देखाएको हतारको उदाहरणका रूपमा टिप्पणी गरे । झट्ट हेर्दा नौलो र असामान्य जस्तो लाग्ने यो दृश्यको फोटो सामाजिक सञ्जालमा पुगेपछि भाइरल नै बन्यो ।