काठमाण्डौ, १६ भदौ २०८२ ।
सुनचाँदीको भाउमा नयाँ कीर्तिमानी कायम भएको छ । सुन आज एकैदिन तोलामा झन्डै २ हजारले बढेर नयाँ कीर्तिमानी कायम भएको हो ।
सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख पाँच हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । निरन्तर बढिरहेको सुनचाँदीको भाउले आज पनि कीर्तिमानी बनाएको छ ।
हिजो सुनको भाउ तोलामा दुई लाख तीन हजार छ सय रुपैयाँ थियो । गएको शुक्रवार सुनको भाउ तोलाको दुई लाख छ सय रुपैयाँ थियो ।
चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर दुई हजार चार सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय २५ रुपैयाँ थियो । यस्तै शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार तीन सय ६० रुपैयाँ थियो ।