यो पटक पेट्रोलियम पदार्थको मूल्य स्थिर, अन्तर्राष्ट्रिय बजारमा भने बढ्यो

काठमाडौँ, १७ फागुन २०८२ ।

यो पटक पेट्रोलियम पदार्थको मूल्य स्थिर भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको भए पनि नेपालमा घटबढ नगरिएको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको भएपनि उपभोक्तालाई राहत दिने उद्देश्यले पुरानै मूल्यलाई यथावत् राखिएको नेपाल आयल निगमले जनाएको छ ।

अहिले चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ५४ रुपैयाँ ५० पैसा, त्यस्तै डिजेल र मट्टीतेलको भाउ लिटरको १ सय ३९ रुपैयाँ ५० पैसा छ ।

यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १ सय ५६ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ १ सय ४१ रुपैयाँ प्रतिलिटिर अनि काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १ सय ५७ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १ सय ४२ रुपैयाँ रहेको छ ।