काठमाडौँ, १४ फागुन २०८२।
निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा सम्बन्धित मतदानस्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा डाक्टर, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाएको समेत आयोगले जनाएको छ ।
चुनावलाई स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन आयोगले नेपाल सरकारलगायतका सरोकारवाला नियकासँग निरन्तर सहकार्य गर्दै निर्वाचनमा मतदाताको सार्थक सहभागिताका लागि मतदानको दिनभन्दा अघि र पछि गरी तीन दिन सार्वजनिक बिदाका लागि आयोगबाट सिफारिस भएबमोजिम नेपाल सरकारबाट निर्णय समेत भइसकेको छ ।
मतदानको प्रक्रियालाई व्यवस्थित रुपमा सञ्चालन गर्न/गराउनका लागि तहगत सरकार र सरोकारवालासँगको सहकार्यको अवधारणअनुरुप आयोगले मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका सरकारी संरचनाहरू र ती सरकारी संरचनाहरूमा रहेका भौतिक सम्पत्ति फागुन १९ गते मङ्गलवारदेखि फागुन २१ गते बिहीवारसम्म ३ दिनका लागि उपयोग गर्न सक्नेगरी व्यवस्था मिलाइदिन सम्बन्धित मन्त्रालय र पालिकामा पत्राचार एवम् समन्वयका लागि सरकारलाई अनुरोध गरी गृह मन्त्रालयबाट सम्बन्धित निकायमा पत्राचारसमेत भइसकेको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगबाट भएको निर्णय र पत्राचारबमोजिमका आवश्यक सहयोगको व्यवस्था मिलाउन संघीय सरकार, प्रदेश सरकार, पालिका तथा सबै सरोकारवाला निकायलाई आयोगले आग्रहसमेत गरेको छ । रासस


