काठमाडौँ, १५ फागुन २०८२ ।
निर्वाचन आयोगले यस पटक मतदानकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने भएको छ । मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने आयोगले योजना बनाएको हो ।
मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्ने गरी तयारी तीव्र पारेको उहाँको भनाई छ ।
विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका सङ्कलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइनेछ । आयोगको योजनाअनुसार मतदान सकिएकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुअघि नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसक्ने आयोगले तयारी गरेको छ ।


