काठमाडौं, १९ भदौ २०८२ ।
फेसबुकको मातृ कम्पनी मेटाको सेवा बन्द नहुने संकेत देखिएको छ । नेपाल सरकारले सूचिकृत हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि मेटा सम्पर्कमा आएकाले प्रकृया पुरा गरेर सञ्चालन हुने संकेत देखिएको हो ।
मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो ।
पौने ५ बजे मेटाका कोही प्रतिनिधिले विज्ञ सल्लाहकारलाई इमेल गरेर दर्ता हुनका लागि आवश्यक कागजातको विवरण मागेको र त्यसको ५ मिनेटभित्रै सामाजिक सञ्जाल प्ल्याटफर्म दर्ता हुन आवश्यक पर्ने कागजातको विवरणबारे जानकारी दिंदै इमेल गरिसकेको मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले क्रमशः लागू हुनेगरी सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ । यो सँगै सामाजिक सञ्जाल यतिबेला तरंगित बनेको छ ।