काठमाडौँ, १२ फागुन २०८२ ।
पेरुमा बाढीको समयमा उद्धारका क्रममा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । मुसलधारे वर्षा र बाढीबाट प्रभावित अरेक्विपा क्षेत्रमा उडान भर्ने क्रममा रेडियो सम्पर्क विच्छेद हुँदा हेलिकप्टर दुर्घटना भएको हो ।
दुर्घटनामा ११ यात्रु र चालक दलका चार सदस्यको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये सात जना बालबालिका छन् । लेदोसहितको पहिरो र नदीमा आएको बाढीले व्यापक क्षति पुर्याएको हुनाले यस क्षेत्रमा खोज र उद्धार कार्यलाई सहयोग गर्न हेलिकप्टर खटाइएको थियो ।
स्थानीय सञ्चारमाध्यमकाअनुसार बाढीले बगाउँदा एक वृद्धा महिलाको ज्यान गएको छ भने चट्याङ लागेर एक पुरुषको ज्यान गएको छ । अरेक्विपा क्षेत्रमा बाढीका कारण घरहरू क्षतिग्रस्त हुँदा बस्न अयोग्य भएकाले स्थानीय अधिकारीहरूले सरकारसँग सहयोगका लागि अनुरोध गरेका छन् ।
दुर्घटनामा हेलिकप्टरमा सवार सबै १५ जनाको मृत्यु भएको छ। यसमा ४ चालक दलका सदस्य र ११ यात्रीहरू रहेका थिए। हेलिकप्टरको भग्नावशेष चाला जिल्लाको चाला भिएजो भन्ने ठाउँमा फेला परेको छ। यो ठाउँ दुर्गम र पहाडी क्षेत्रमा पर्दछ ।


