अर्घाखाँची, २८ साउन २०८२ ।
अर्घाखाँचीमा भैँसीलाई यातनापूर्वक ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका–२ घोचेखोलाबाट प्रहरीले भैँसी बोकेको जीपका चालक र सहचालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ का सरोज पौडेल र रोल्पाको लुङ्ग्री गाउँपालिका–२ घर भएका क्रिस बाँनिया रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिनुभयो ।
उनीहरूले धारापानीबाट सदरमुकाम सन्धिखर्क ल्याउने क्रममा जीपमा ४ वटा भैँसीलाई अटाइनअटाइ राखेको, यातना दिएको पाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले बताउनुभयो ।
पक्राउ परेका पौडेल र बाँनियामाथि मुलुकी अपराध संहिता–२०७४ अनुसार पशुपक्षीसम्बन्धी कसूर मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको छ । प्रेमनारायण आचार्य, उज्यालो