काठमाण्डौ, २० भदौ २०८२ ।
सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् ।
नेपाल टेलिकमले सूचना निकालेर नेपालमा सूचीकरण नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले त्यसै निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएको छ ।
प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम यस्तो निर्णय गरिएको टेलिकमले जनाएको छ । एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ ।
फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय हुन थालेपछि धेरैजना भाइबर, टिकटक लगायतमा जोडिन थालेका छन् । फेसबुक, यूट्यूव, एक्ससहितका सामाजिक सञ्जालहरु निष्क्रिय गर्ने निर्णय गरेपछि सरकारको आलोचना पनि भइरहेको छ । यी दुवै सेवा प्रदायक संस्थाले सार्वजनिक सुचना जारी गरेर सेवा बन्द गराएका छन् ।