काठमाडौं, २६ मंसिर २०८२ ।
बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले नेपालमा आध्यात्मिक पर्यटन सम्बन्धमा एक कार्यक्रम गरेको छ । गएको मंगलबार बेइजिङमा दूतावास कर्मचारीसहित ७० जना चिनियाँहरूको सहभागितामा आध्यात्मिक पर्यटन सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।
विश्व स्वास्थ्य संगठनको साधारणसभाले सन् २०२४ डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको अवसर पारेर कार्यक्रम आयोजना गरिएको चीनका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनाले जानकारी दिनुभयो । नेपालमा आध्यात्मिक पर्यटनको प्रचारप्रसार गर्ने हो भने पर्यटकले नेपालका पवित्र स्थलहरू र परम्पराहरूको समृद्धिलाई आत्मसात् गरेर आफ्नो आत्मासम्म गहिरो यात्रा गर्न सक्ने उहाँको भनाई छ ।
चीन नेपालबीच सम्बन्ध पुरानो रहेको उल्लेख गर्दै उहाँले यस वर्ष अर्थात् सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्षका रूपमा मनाइँदै गरेको अवसरमा नेपालको परिदृश्य योग र ध्यान गर्न चाहनेहरू तथा शान्त वातावरणमा आयुर्वेद र स्पा उपचार अनुभव गर्न चाहनेहरूका लागि उपयुक्त गन्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली योगगुरु रमेश सिटौलाको साथमा उपस्थित चिनियाँहरू योग कार्यक्रममा सहभागी भएका थिए । ‘अमर गुरु’ का नामले परिचित सिटौलाको अगुवाईमा ध्वनि पात्रको धुनको साथमा सहभागीहरूले ध्यान गरेका थिए । अमर गुरुले उपस्थित चिनियाँहरूलाई ध्यान कार्यक्रममार्फत एकाग्रता र शून्यताको परिचय दिनुभएको थियो ।
अमर गुरु सन् २०१२ देखि निरन्तर रूपमा योग कार्यक्रमका लागि चीन आउनेजाने गर्नुभएको छ । उहाँले चीन र चिनियाँ समाजमा योग दर्शन फैलाउँदै दुई देशबीच जनस्तरीय सम्बन्धमा समेत योगदान पुर्याउदै आउनुभएको छ । योग गुरुको रुपमा परिचित अमर गुरुले आगामी दिनमा पनि नेपाललाई विश्वसामु चिनाउन निरन्तर लागिरहने बताउनुभयो ।
इकोनोमिक मिनिस्टर पार्वती अर्यालले नेपालमा आध्यात्मिक पर्यटन विषयक प्रस्तुतिसहित जानकारी दिनुभएो थियो । उहाँले योगको आरम्भ हिन्दुहरूका आराध्यदेव महादेवले कैलाशबाट थालेको बताउँदै काठमाडौँ, लुम्बिनीलगायत नेपालका अधिकांश भूभाग योग र धार्मिक तथा आध्यात्मिक पर्यटनका लागि उपयुक्त रहेको औँल्याउनुभयो ।
युन क्वोची बवह्वा च्वानमइकी चाङ लिलीले अमर गुरुको बारेमा थप जानकारी गराउनुभएको थियो । दूतावासद्वारा आयोजित उक्त कार्यक्रमको मुख्य आकर्षण ध्यान बनेको छ। कार्यक्रम अघि अमर गुरुको परिचयसहितको भिडियो प्रसारण गरिएको थियो ।



