काठमाडौँ, ५ फागुन २०८२ ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई आज दान दक्षिणासहित बिदा गरिँदैछ । फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन आज बिदाइ गर्ने परम्परा छ ।
१८३१ सालमा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा शुरु भएको संस्थानका पूर्वउपप्रशासक दीपकबहादुर पाण्डेले जानकारी दिनुभयो । बिदाइका लागि संस्थानले झन्डै ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि साधुसन्तलाई आएकै दिन बाँडिएको थियो । कार्ड बाँडिएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको पाण्डेले जानकारी दिनुभयो ।
नेपाल बाहिरबाट आएका नागा बाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सकियोस् भनी दक्षिणा बढाइएको संस्थानले जनाएको छ । पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा र पशुपति परिसरका विभिन्न ठाउँमा गरी झन्डै चार हजार साधुसन्त रहेका छन् । हरेक ठाउँमा फरक सम्प्रदायका साधु रहेका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले जनाकारी दिनुभयो । रासस



