प्रविधिको दुरुपयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ, ६ फागुन २०८२ ।

निर्वाचन आयोगले प्रविधिको दुरुपयोग नगर्न आग्रह गरेको छ । आयोगले चुनावी गतिविधि गर्दा हुनसक्ने प्रविधिको दुरुपयोगलाई मध्यनजर गर्दै यस्तो आग्रह गरेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी सृजना गरिएका कतिपय सामग्री सामाजिक सञ्जालमा नराख्न र चुनावलाई मर्यादित बनाउन आग्रह गर्नुभयो । प्रविधिको प्रयोग गर्दा हुने दुरुपयोगले चुनावको निष्पक्षतामा नै प्रश्न उठ्न सक्ने भएकाले यसतर्फ गम्भीर बन्न आयोगले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ । उहाँले चुनाव केन्द्रित मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न समेत आग्रह गर्नुभयो ।

आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एवम् सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चार माध्यमलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ ले प्रस्ताव गरेको मतदातको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउन सक्ने भएकाले नतिजा पहिला नै घोषणा गरिदिँदै उम्मेदवारलाई हतोत्साही बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्याउने जस्ता काम नगर्न आयोगले अनुरोध गरेको छ ।