धार्मिक, साँस्कृतिक पत्रकार समाज नेपालको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा मिश्र

काठमाडौ, २८  असार २०८२ ।

धार्मिक, साँस्कृतिक पत्रकार समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । धार्मिक र आध्यात्मिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुद्वारा गठित समाजको प्रथम अधिवेशन शनिबार पशुपतिमा सम्पन्न भएको हो ।

पशुपतिको आनन्द धर्मशालामा आयोजित अधिवेशनबाट पूर्ण प्रसाद मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा देशकै अग्रणी धार्मिक तथा आध्यात्मिक पत्रिका गौरी मासिकका सम्पादक अर्जुन लामिछाने, उपाध्यक्षमा चित्र कुमार चौलागाईँ, महिला उपाध्यक्षमा विनु श्रेष्ठ, महासचिवमा किशोर प्रसाद ढुङ्गेल, सचिवमा जयराम सापकोटा र रामचन्द्र दुलाल, कोषाध्यक्षमा मनिषा पोखरेल र सह कोषाध्यक्षमा हरिशरण तिमिल्सिना सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक विनोद बस्नेतले जानकारी दिनुभयो । सदस्यहरुमा सुजन प्रेमी सुवेदी, कृष्ण थापा, जया मिश्र र टिकाराम सुवेदी चयन हुनुभएको छ । थप सदस्यहरु पछि मनोनयन गरिने समितिले जनाएको छ ।

यस्तै नवनिर्वाचित कार्यासमितिको प्रथम बैठकले धार्मिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुका लागि अक्षयकोष स्थापना गर्ने निर्णय समेत गरेको छ । निर्वाचन लगतै बसेको बैठकले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको अध्यक्ष मिश्रले जानकारी दिनुभयो । अक्षयकोषका लागि समाजसेवी तथा धार्मिक व्यक्तित्व कोमल प्रसाद लामिछानेले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा समेत गर्नुभएको छ । ६ महिना अघि गठित तदर्थ समितिको अधिवेशन भई पूर्ण समिति गठन हुँदाका बखत नै अक्षयकोष स्थापना हुनु र यसको लागि सहयोगको समेत ढोका खुल्नुले थप उर्जा बढाएको पत्रकारहरुको भनाई छ । समाजले धार्मिक क्षेत्रमा रहेर कर्म गर्ने पत्रकारहरुको हक हितमा कार्य गर्नेछ । अधिवेशनको उद्घाटन महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दिपक प्रकाश बाँस्काेटाले गर्नुभएकाे थियाे ।