काठमाडौं, ६ असोज २०८२ ।
यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । असाेज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने दशैं आजबाट सुरु भएको हो ।
बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । घटस्थापनाको साइत अहिले बिहान ९ बजेर १३ मिनेटमा छ ।
आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फुलप्रसाद ग्रहण गर्ने गरिन्छ । दशैँ शुरु भएसँगै बजारमा किनमेल गर्ने र गाउँघर फर्कनेको चहलपहल पनि शुरु भएको छ । तर दशैं लाग्दासम्म पानी पर्ने क्रम भने रोकिएको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको प्रभावले आज पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ ।
दिउँसो र राति धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका केही ठाउँहरुमा, बाँकी पहाडी भूभागको थोरै ठाउँहरुमा तथा बाँकी तराई भूभागका एक, दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । दशैंका लागि घर जाने यात्रुहरुलाई यात्रा गर्दा मौसम र सडकको अवस्था हेरेर मात्रै यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ ।