काठमाडौँ, १८ मंसिर २०८२ ।
मंसिर शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।
यस अवसरमा आज काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाण्डौको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत ठाउँमा मेला लाग्ने गर्छ । यस्तै नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व मनाउँदैछन् ।
योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा पर्व मनाउँछन् ।
यस्तो छ योमरी पुन्हीको विशेषता
आज काठमाण्डाै उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका नेवार समुदायले य:मरि पुन्हि मनाउँदछन् ।
धान काट्ने कार्य सम्पन
य:मरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारिक रूपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पूर्णिमा समेत भनिएको हो।
य:मरि पुन्हि के हो ?
नयाँ धानको चामलको पिठोलाई महाछाको जस्तो स्वरूप बनाएर त्यस भित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरी तयार पारिन्छ । योमरी अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झैँ य:मरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हितकारी छ ।
य:मरिको आकारको दैविक अर्थ
य:मरिको त्रिकोणात्मक आकारले षटकोणको अर्ध भागको रूपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रूपमा लिइन्छ । पानीको देवताका रुपमा काठमाण्डौवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा य:मरि चढाउने परम्परा चली आएको हो । य:मरिको प्रसङ्ग देवगणसँग पनि जोडिएर आउँछ, नेवार समुदायमा प्रचलित कथाहरूका अनुसार: य:मरि देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडी रहेका हुन्छन् यसरी भेष बदलेर हिँडिरहेका बटुवा कुवेरबारे थाहै नभए पनि उनलाई सत्कारपूर्वक सप्रेम य:मरि खान दिएको कथा छ । कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ । योमरी झै सबैको जीवनमा मिठास होस्, स्वास्थ्य राम्रो होस् अनि सबैको यो हिउँद राम्रोसँग बितोस् ।
नेपाली पारम्परिक चाडबाड तथा संस्कृतिका विशेष क्षणहरूमा विविध साङ्गीतिक अभ्यासहरूले पनि आफ्नो बेग्लै स्थान बनाएको छ । शायदै त्यस्ता कुनै चाडबाड होलान् जसमा विशेष खाले गीत सङ्गीतले ठाउँ नपाएको होस् । य:मरिको पुन्हिका दिन पनि यससँग सम्बन्धित विशेष नेपाल भाषामा गाइने एउटा विशेष गीत छ
यःमरि च्वामु,
उकी दुने हामु।
ब्युसा माकु,
मब्युसा फाकु।
ब्युम्ह ल्यासे,
मब्युम्ह बुरिकुति
त्यःछिं त्यः
बकछिं त्यः
लातापाता कुलेचां
ब्युछिं त्यः।
यस दिन केटाकेटीहरू रमाइलो गर्दै छरछिमेकको दैलोमा गएर य:मरि माग्ने चलन पनि छ, काठमाण्डौको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाइने चलन पनि परापूर्व कालदेखि हुँदै आएको पाइन्छ । योमरी कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँ खाले परिकारका रूपमा य:मरि देखा परेको र सम्पूर्ण गाउँलेहरूलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मन परेर य:मरिको नाम दिएको जनउक्ति छ, नेपाल भाषामा योमरी भन्नाले मिठो रोटी भन्ने बुझाउँदछ ।


