काठमाडौँ, ३ फागुन २०८२ ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथका चार वटै ढोका खुला गरिएको छ । दर्शनार्थीको सहजताका लागि आज बिहान २ बजेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिएको हो ।
दर्शनलाई सहज बनाउन चारवटा लाइन व्यवस्थापनका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन सवारीका लागि छुट्टै मार्ग निर्धारण गरिएको छ ।
पशुपति क्षेत्र आसपासमा गाडीको आवागमनमा विशेष व्यवस्थापन गरिएकोछ । कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको छ । कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीका अनुसार सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीलाई सहज रूपमा आवत–जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापन मिलाएको छ । दर्शनार्थी तथा उनीहरूले साथमा ल्याउने सरसामानको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
पशुपतिमा आउने भक्तजनहरुलाई विशेष रुरक्षा अपनाउन आग्रह गरिएको छ । पशुपति क्षेत्रमा स्वयंसेवकको रुपमा निरन्तर सक्रिय नेपालकै अग्रणी धार्मिक पत्रिका गौरी मासिकका सम्पादक अर्जुन लामिछानेले पशुपतिमा भिडभाड हुने भएकाले विशेष सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।
उहाँको अपिल:
महाशिवरात्रि- २०८२ का अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थ पाल्नु हुने भक्तजनहरुलाई अनुरोध !
१. भगवान् श्रीपशुपतिनाथको दर्शनार्थ पाल्नु हुने दर्शनार्थीहरूले बहुमूल्य गर-गहना लगाएर नआउनु हुन अनुरोध छ ।
२. मन्दिर आउंदा झोलाहरू सकभर नल्याउनु हुन र पशुपति क्षेत्रको मापदण्ड बमोजिम प्लाष्टिक झोला, कप, प्लेट आदिको प्रयोग निषेध गरिएकोले त्यस्ता सामानको प्रयोग नगरिदिनु हुन अनुरोध छ ।
३ दुध, गंगाजल जस्ता सामाग्रीका लागि टुट-फूट हुने कांच (सिसा) का भाँडा प्रयोग नगरिदिनु हुन अनुरोध छ ।
४. श्रद्धालु भक्तजनहरूको सुविधाको लागि गरिएकाले तोकिएको कक्षमा जुत्ता चप्पल दर्शनमार्ग पिच्छे छुट्टाछुट्टै स्थानमा जुत्ता-चप्पल सुरक्षा कक्षको व्यवस्था राखेर मात्र मन्दिर प्रवेश गरिदिनु हुन अनुरोध छ ।
५. आराध्यदेव भगवान् श्रीपशुपतिनाथको दर्शन गरिसकेपछि छिटो भन्दा छिटो मन्दिर परिसर बाहिर निस्किदिनु भई मिड हुन नदिन सहयोग गर्नुहुन अनुरोध छ ।
६. श्रीपशुपतिनाथका मन्दिर प्राङ्गणमा सबै प्रकारका मोवाइल फोन, क्यामरा आदि सामाग्रीको प्रयोग निषेध गरिएको व्यहोरा सम्पूर्ण भक्तजनहरूमा सादर अनुरोध गरिन्छ ।
७. छालाका सामान, जुत्ता, चप्पल, ज्याकेट, कम्मरपेटी लगाएर मन्दिरमा प्रवेश निषेध भएकोले त्यस्ता सामानहरू तोकिएको सुरक्षित स्थानमा राखेर मात्र मन्दिर दर्शन गर्नुहुन अनुरोध छ ।
८. पाकेटमारादेखि सावधान रहनुहोला र आफ्नो सामानको सुरक्षा आफै गर्नुहोला ।
९ कुनै पनि तीर्थयात्री अस्वस्थ भएमा स्वास्थ्य शिविरमा सम्पर्क राख्नुहुन अनुरोध छ ।
१०. कुनै सामान वा व्यक्ति हराएमा तुरुन्त प्रहरी शिविर वा खोजखबर कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ ।
११ तीर्थयात्रीहरूलाई कुनै समस्या आइ परेमा तुरून्त स्वयंसेवक र सुरक्षाकर्मीसँग सम्पर्क गर्नुहुन अनुरोध छ ।
१२ मन्दिर र मेला क्षेत्रलाई स्वच्छ र सफा राख्न जथाभावी फोहोर नगरौं, निर्दिष्ट स्थानमा रहेका शौचालयहरूको प्रयोग गर्नुहोला ।
१३ शारीरिक रूपमा असक्त, जेष्ठ नागरिकहरूलाई सहज दर्शनको निम्ति सहयोग पुऱ्याइ दिनुहुन अनुरोध छ ।
१४ मन्दिर दर्शनको निम्ति कुनै प्रकारको विशेष टिकट या पासको व्यवस्था नगरिएको हुँदा पङ्क्तिबद्ध भएर दर्शन गरिदिनुहुन भक्तजनहरूमा अनुरोध छ ।
१५ पङ्क्तिबाट दर्शन गर्दा समेत अरूको अधिकारको हनन हुने व्यवहार नगर्नुहुन अनुरोध छ ।
पवित्र तीर्थस्थलको मर्यादा कायम गर्न सबैले सहयोग गरौं !



