फागुन १५ गते भित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ, १० फागुन २०८२ ।

सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई निर्देशन दिएको छ । सरकारले गएको भदौ २३ र २४ गते भएको  जेनजी  प्रदर्शनका क्रममा घाइते भएकाहरूको सूचीकरणका लागि यही १५ गतेभित्र नामावली पठाउन अस्पतालहरूलाई निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर यही १५ गतेसम्म घाइतेको सूचीकरण र वर्गीकरणका लागि अन्तिम मौका दिएको छ । गृह मन्त्रालयको पत्र तथा समन्वय समितिको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले घाइतेको सूचीकरण, वर्गीकरण तथा पुनर्वर्गीकरणसम्बन्धी कार्यमा लामो समय लागेकाले अब अन्तिम मौका दिएको जनाएको छ । अब यो अवधिभित्र विधिवत् प्राप्त हुन आएका निवेदनहरूको छानबिन गरी घाइतेहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको  छ ।

आन्दोलनका क्रममा छुट भएका घाइतेहरूको उपचार भएकाको नामावली स्वास्थ्य मन्त्रालयको इमेल ठेगानामा १५ गतेभित्र पठाउन निर्देशन दिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । डा. बुढाथोकीका अनुसार अहिलेसम्म २०० जना घाइतेको मात्र वर्गीकरण विवरण उपलब्ध भएको छ ।  जेनजी प्रदर्शनका क्रममा धेरै घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने उहाँको भनाई छ ।

सरकारले जेनजी प्रदर्शनका क्रममा अतिगम्भीर वर्गीकरणमा परेकालाई र ती घाइतेलाई स्याहार गर्नेलाई मासिक नौ हजार, गम्भीर घाइतेलाई मासिक नौ हजार र मध्यम घाइतेलाई मासिक चार हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उहाँका अनुसार जेनजी प्रदर्शनका क्रममा दुई हजार ५ सय ९९ जना घाइते भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।