काठमाडौँ, १२ फागुन २०८२ ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा वेस्ट इन्डिजले जिम्बावेलाई १ सय ७ रनले हराएको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा हिजो वेस्ट इन्डिजले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर ४ बलमा १ सय ४७ रन बनाउँदा सबै विकेट गुमायो । जिम्बावेका ब्राड इभान्सले ४३ रन बनाए । वेस्ट इन्डिजका गुडाकेश मोटीले ४ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनायो । वेस्ट इन्डिजका शिम्रोन हेटमायरले ८५ रन बनाए । जिम्बावेका रिचार्ड नागाराभा र ब्लेसिङ मुजरबानीले २/२ विकेट लिए ।
टी–२० विश्वकपमा यो दोस्रो ठूलो योगफल हो । यसअघि सन् २००७ मा श्रीलङ्काले केन्यासँगको खेलमा २ सय ६० रन बनाएको थियो ।
यो जीतसँगै वेस्ट इन्डिज ‘सुपर–एट’ को समूह १ मा शीर्ष स्थानमा उक्लिएको छ । जिम्बावे पुछारमा छ ।
यस्तै ‘सुपर–एट’ मा इङ्ग्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । यो खेल श्रीलङ्काको पल्लेकेलेमा बेलुका सवा ७ बजे शुरू हुनेछ ।
‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।


