काठमाडौं, १२ असोज २०८२ ।
यसपाली दशैँ अवधिभर मनसुनी वायुको प्रभाव कायमै रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको दशैँ अवधिसम्मको मनसुनको अवस्था समेटेर विशेष मौसम बुलेटिन जारी गरेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट मनसुन बहिर्गमन भइसकेको छैन । नेपालमा सरदर अक्टोबर २ तारिखमा मनुसन बहिर्गमन हुने भए पनि हरेक वर्ष यो मिति भने फरक हुने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो ।
असोज १४ गते (अष्टमी) का दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । असोज १५ (नवमी) का दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कायस्थले जानकारी दिनुभयो ।
उहाँका अनुसार असोज १६ (विजयादशमी) का दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भागका केही ठाउँ साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने हुँदा मौसमको अध्यावधिक जानकारी लिन र आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।