आज केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १५ फागुन २०८२ ।

आज केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज विशेषगरी पूर्वी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

आज र भोलि नै बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान तराई भूभागका केही ठाउँहरुमा बिहानको समयमा हुस्सु लागेको छ ।

केही दिनदेखि मौसम बदली भएर हिमाली तथा पहाडी भेगका केही ठाउँमा दिनहुँजसो हल्का वर्षा र हिमपात हुने गरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो सिन्धुपाल्चोक, भक्तपुर, काठमाण्डौ, नुवाकोट, चितवन, स्याङ्जा र डोटीका केही क्षेत्रमा वर्षा भएको छ ।

विभिन्न उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ । पछिल्लो तीन दिनदेखि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण बदली तथा वर्षा र हिमपात भइरहेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँ तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।