मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

रौतहट, ३ फागुन २०८२ ।

रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको हो ।

बिहान करिब साढे पाँच बजेको समयमा गंगापिपराबाट गौरतर्फ गुडिरहेको भारतीय बिआर३०यु१३७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र २१ वर्षीया उनकी श्रीमतीको ज्यान गएको छ ।

उनीहरु दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । दुवै जना टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत अवस्थामा फेला परेका थिए । दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।

This will close in 0 seconds