पोखराबाट काठमाडौं आउदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ, ११ फागुन २०८२ ।

पोखराबाट काठमाडौं आउदै गरेको बस त्रिशूलीमा खस्दा १७ जनाको ज्यान गएको छ । ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो ।

दुर्घटनामा परेर २४ जना घाइते भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको छ ।

घटनास्थलमा  रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले दुर्घटनाको बेला बसमा ४६ जना यात्रुहरु रहेको र उनीहरुको खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो । घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरु ओसार्दै बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत् अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।

हालसम्म १३ पुरुष र ४ महिलाको शव संकलन गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । मृतक र घाइतेहरुको सनाखत हुन सकेको छैन ।