काठमाडौं, २४ कात्तिक २०८२ ।
शिक्षामन्त्री महावीर पुनले नेपाल शिक्षक महासंघप्रति कटाक्ष गर्दै एक स्टाटस पोष्ट गर्नुभएको छ । मन्त्री पुनले सोमबार बिहान महासंघ प्रति लक्षित गर्दै फेसबुकमा पोष्ट गर्नुभएको हो ।
शिक्षामन्त्री पुनले आइतबार एक सु्चना जारी गर्दै सबै तहका शिक्षकहरुले राजनीतिक आस्था त्यागेको ह्न्पर्ने र पेशागत संघ संगठनलाई स्वतन्त्र बनाउनुपर्ने बताउनुभएको थियो । मन्त्री पुनको सूचना तथा आदेशपछि शिक्षक महासंघले मन्त्रीलाई राजनीति आफ्नो अधिकार भएको र सुत्ने बेलामा संविधान पढ्नु भनेर व्यङ्ग्य गरेको थियो । यसैको प्रत्युत्रस्वरुप पुनले स्टाटस लेख्दै चुनावमा पढाउन छाडेर प्रचारमा नहिड्न आग्रह गर्नुभएको छ ।
उहाँ लेख्नुहुन्छ “मैले हिजो जारी गरेको सूचनाको बारेमा – संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन। तर राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र बिश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्न पाईने छैन भनेर सुचना गरेको हो। सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरु र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर सो सुचना प्रकाशित गरिएको हो। त्यस्तो अनावश्यक राजनिति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो । सो सम्बन्धि सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरु पनि हेर्नुहोला। अब फाल्गुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने बिनम्र अनुरोध छ। “नविराउनु नडराउनु“ भन्ने नेपाली उखान छ नि त।”

