देशभर चिसो बढ्न थाल्यो: औसतमा ४ डिग्री तापक्रम घट्दै

काठमाडौँ, २५ कात्तिक २०८२ ।

देशभर चिसो बढ्न थालेको छ । औसतमा ४ डिग्रीसम्म तापक्रम घट्न थालेपछि चिसो बढ्दै गएको हो ।

अबका दिनमा तापक्रम औसत भन्दा २ देखि ४ डिग्री सेल्सियसले तल झर्ने सम्भावना देखिएको हुँदा चिसोबाट जोगिन विपद् तथा जलवायू विज्ञ डा. धर्मराज उप्रेतिले आग्रह गर्नुभयो । उहाले  न्यानो लुगा लगाउन र चिसोबाट जोगिन सुझाव दिनुभएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अहिले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम सफा छ । आज दिउँसो पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

आज काठमाण्डौ उपत्यकामा यसवर्षकै न्यून तापक्रम मापन भएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । काठमाण्डौमा हिजो न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियसकोबीचमा रहने अनुमान छ । त्यस्तै जुम्लामा अहिले बिहानको न्यूनतम तापक्रम माइनस २.४ डिग्री सेल्सियस मापन भएको छ ।

आज जुम्लामा न्युनतम तापक्रम माइनस तीन डिग्री सेल्सियससम्म झर्न सक्ने अनुमान छ । देशका अरू धेरै ठाउँमा पनि चिसो बढ्न थालेको छ । दिउँसो मौसम सफा भएर घाम लाग्ने गरे पनि बिहान र बेलुका चिसो हुन थालेको हो ।

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds

This will close in 0 seconds