कामरेडहरु किन कमरेटका भए ?

सुजन प्रेमी सुवेदी

देशमा राणा शासन हुँदै बहुदल आएपछि कम्युनिष्ट पार्टीको बहुतै चर्चा चल्न थाल्यो । नेपालमा भैरहेको व्यवस्था भन्दा फरक बिचारधारा बोकेको कम्युनिष्ट पार्टीलाई अवसर र चुनौति दुवै थियो । देशको शासनसत्तामा हात पुर्‍याएको कांग्रेसलाई पुँजिवादि पार्टी भनिन्थ्यो भने कम्युनिष्टलाई सर्वहारा पार्टी अर्थात दुःखी र निमुखाहरुको पार्टी । कांग्रेसको “जय नेपाल”को सम्बोधनमा कम्युनिष्टको “लाल सलाम” र “अभिवादन” मिसिए । देशमा फरकपनको स्वाद चखाएका कम्युनिष्टले आफ्‌ना सहयात्री आस्थावानहरुलाई “कामरेड” वा “कमरेड” भनेर सम्बोधन गर्न थाले । साधारणतया ओइ, फलानो, रामे, श्यामे भन्नुभन्दा सगोलमा कामरेड भन्दा साइनो खुट्याउनु नपर्ने र सबैलाई सम्मान हुने भएकाले “कामरेड” शब्द पनि ओझिलो थियो ।

म धेरै पर जान चाहिन तर कम्युनिष्टका धरोहर मानिएका तत्कालिन एमाले नेता मदन भण्डारीसम्म चैँ पुग्नैपर्छ । जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले कम्युनिष्टको साख जोगाउन ठुलै भूमिका खेल्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) एकीकरण गरी नेकपा (एमाले) बनाउन भण्डारीको महत्वपूर्ण भूमिका देखिन्छ । कम्युनिष्ट आएपछि जनताको स्वतन्त्रता खोसिन्छ रे भन्दै एक पक्षले हल्ला फिजाउँदै गर्दा मदन भण्डारीको उदय हुनुले जनतामा आशा पलाएको थियो ।

देशमा अशक्त, अपांग, बृद्धबृद्धाहरुलाई सरकारले पाल्नुपर्छ भन्ने हेतुले कम्युनिष्टले नै सामाजिक सुरक्षा भत्ताको सुरुवात गरे । दुई पैसा देख्न गोठ रित्त्याउनुपर्ने गाउँका बुढाबुढिहरुले सित्तैमा पैसा पाउने भएपछि मख्ख मात्रै परेनन् युगौँदेखि कांग्रेसको रुखमा ल्याप्चे लगाएकाहरुले कम्युनिष्टहरुले गर्छन् भन्न थाले र भोट पनि उतै धस्काइदिए । जुट र फुटको पीडा मज्जाले भोगेका कम्युनिष्टहरु नेकपा मसाल, नेकपा एमाले, नेकपा माओवादी नाम धारण गरी कामरेड बनिरहे । कम्युनिष्टको साझा उद्देश्य सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने हो तर एउटै उद्देश्य बोकेका कामरेडहरुको बिचार चै किन फरक बन्यो ? कम्युनिष्टकै खोल ओडेर सैयौँ नामधारी कम्युनिष्ट भएर लाल सलाम र अभिवादन गर्दा ईतिहासलाई कता हुत्याए ? त्यो उनिहरुलाई नै थाहा छैन ।

विभिन्न तन्त्रका नाममा देशमा आन्दोलन र घटनाहरु भए । जनता उरालिए, भड्काइए, जिन्दावाद र मुर्दावादका नारा घोकाइए तर तन्त्र जे आएपनि त्यो जनताका लागि कहिल्यै महशुस हुन सकेन । भोको पेटले आदर्शको नारा लगाउन तयार भएका जनता माथि पटक पटक घात भएको छ ।

जहाँबाट कम्युनिष्ट शासन जन्मियो त्यो देशको बिकास हेर्दा नेपाली पनि लोभिए अनि भन्न थाले बिकासले मुहार फेर्न कम्युनिष्ट व्यवस्था अनिवार्य छ । त्यहि आवश्यक देखेर कम्युनिष्टको नारामा बत्तिको उज्यालोमा पुतली होमिएझैँ जनताहरु होमिए । एमाले पछि माओवादीको पालो आयो चर्चा कमाउने । २०६४ सालको चुनावमा सर्लप्पै मत ल्याएर माओवादी ठुलो पार्टी बन्यो नबनोस् पनि कसरी ? देश समृद्ध बनाउने महान नारा यसैले बोकेको थियो । सत्ता प्राप्ति पछि माओवादीले ती नारा भुल्दै गयो अनि माओवादीको नारामा लोभिएकाहरुले दिनदिनै पछुताउन थाले । कम्युनिष्टले बाँडेको खोक्रो नाराले समृद्ध आउँदैन भनेर जनताले सोच्न थाले तर अब बिकल्प पनि के छ त ? पुँजिवादी र समाजवादीको नारा बाहेक सबै आरचण मिलेपछि ।

फरक नाराले उचाई बढाएका कामरेडहरुको महत्व दिनानुदिन कम हुन थाल्यो । सर्वहाराको नारा बोक्नेहरु नै स्वार्थमा लिप्त भएपछि जनताको मन छिया छिया भयो । जनताको पार्टी भनेर जनतामाथि नै शासन गर्ने कम्युनिष्टहरुको महत्व हरुले घटाएका होइनन् यिनै कम्युनिष्टका खोल ओडेर पुँजिवादमा लिप्त शासकहरु आफैँले घटाएका हुन् । जनताले राजनीतिलाई महत्व दिनै छाडेका छन् । राजनीतिलाई घृणित खेलको रुपमा हेरिन थालेको छ । कम्युनिष्ट शासनलाई जहानिया शासनको रुपमा परिभाषित गर्न थालिएको छ । यसो गर्दा कामरेडहरुको उचाई र महत्व पनि घटिरहेको छ । कामरेडहरु अहिले कमरेट अर्थात न्युन मूल्यको अझै भन्दा मूल्य विहिन भएका छन् । राजनीति प्रति नै वितृष्णा फैलाएको कांग्रेसको प्रबृत्तिबाट बिछिप्त भएर कम्युनिष्ट शासन ल्याएको देशमा जनताहरु आफैँलाई धिक्कारिरहेका छन् भने सर्वहारा वर्गको राजनिति गर्छु भन्न लाज लाग्नुपर्ने होइन र ? खोइ त मुल्याङ्कन गरेको ?

विभिन्न तन्त्रका नाममा देशमा आन्दोलन र घटनाहरु भए । जनता उरालिए, भड्काइए, जिन्दावाद र मुर्दावादका नारा घोकाइए तर तन्त्र जे आएपनि त्यो जनताका लागि कहिल्यै महशुस हुन सकेन । भोको पेटले आदर्शको नारा लगाउन तयार भएका जनता माथि पटक पटक घात भएको छ । जनताको शासन भन्दै तिनै स्वार्थी झुण्डले सत्ताको रसपान गरिरहेका छन् । म ठिलो जन्मिएता पनि एक सय बर्षको इतिहासमा कति वडा तन्त्र आए ? हामीले जानेकै छौँ तर त्यहाँ यिनै सत्ताधारी र यिनका आफन्त बाहेकको अनुहार देख्न छोडिएको छ र ? सर्वहारा जनताको लागि नाङ्गा खुट्टाले गरिएको आन्दोलनको उपलब्धी नेताका खुट्टामा जुत्ता पर्नु हो कि, जनता मुहारमा हाँसो थपिनु हो ? कम्युनिष्टका कामरेडहरुले मूल्यांकन गर्नै सकेका छैनन् । यहि कारण नेताका मूल्य नभएको हो । विकसित देशमा नेताका लागि यातयात देखि विमानस्थलसम्म सम्मानित स्थान राखिन्छ भने उनीहरुको इज्जत कति हो कति बढेको हुन्छ तर नेपालको सन्दर्शमा दिनानुदिन नेताहरुलाई गालीको बर्षा किन ? कुनैदिन मानव मस्तिष्कबाट सोच्नुभएको छ ? माओ र लेनिनको फोटो राखिएको झण्डामुनी यसरी मूल्यहिन भएर बसिरहँदा ती कम्युनिष्ट पिताहरुको आत्माले कति सराप्दो हो ? धोत्लिएर सोचौँ त ।