बागलुङ र पर्वत जाेड्ने लामाे पुलको न्वारन गर्ने तयारी, नामकरण गर्नेलाई २५ हजार पुरस्कार

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ५ चैत २०७७ ।

कालीगण्डकी नदीमाथि बनेको लामो पुल । सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारसँगा जोडिएको पाङ गाउँलाई जोडेकाले यो पुलको आफ्नै महत्व छ । ‘सिङ्गल स्पान’ प्रविधिमा ५६७ मिटर लामो बनेको संसारकै लामो पुलको भएको भन्दै ‘गिनिज बुक अफ द वर्ड’मा दाबी प्रस्तुत गरेको बागलुङ नगरपालिकाले यो पुललाई आफ्नै परिचय दिने अभियान पनि शुरु गरेको छ । पुलको बागलुङतर्फ नजिकै रहेको प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिर, छेवैमा बन्दै गरेको बाङ्गेचौर रङगशाला, शालिग्राम बग्ने प्रसिद्ध कालीगण्डकीको महिमा र ज्योतिशहरूको गाउँ पाङलगायत महत्वपूर्ण क्षेत्रसँग जोडिएकाले यो पुलको विशेषता र महत्व निकै फराकिलो छ ।

पुललाई लामो पुलको रुपममा मात्रै परिचित गराउनुभन्दा आफ्नै नाम दिएर पर्यटन प्रर्वद्धनलाई योगदान दिन नगरपालिकाले प्रक्रिया थालेको हो । पुलको नामकरणका लागि पेश भएका नामबाट उत्कृष्ट नाम छनोटका लागि बागलुङ नगरपालिकाले छनोट समिति गठन गरेको छ । लामो झोलुङ्गे पुलको नामकरणका लागि नगरपालिकाले सार्वजनिक सूचना गरेको थियो । सूचनाका आधारमा प्राप्त भएका नाममध्येबाट आर्थिक सांकृतिक र अन्तर्राष्ट्रिय महत्व झल्कने हिसाबले उपयुक्त तीन नाम सिफारिस गर्न नगरले सिफारिस समिति बनाएको हो । नामकरण गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

सिफारिस समितिका संयोजकमा नगर उपप्रमुख सुरेन्द्र खड्का रहनुभएको छ । समितिको सदस्यमा सह–प्रध्यापक विष्णुप्रसाद मैत्रेय, देवबहादुर श्रेष्ठ, पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीष, कुश्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदी र नगरका सूचना अधिकारी युक्तप्रसाद सुवेदी रहनुभएको छ । नगरले सार्वजनिक गरेको सूचनाका आधारमा अनलाइन र कार्यालयमार्फत दर्जनौं नाम प्राप्त भएका छन् ।

ती नामबाट छनोट समितिले तीन नाम नगरपालिकालाई सिफारिस गर्ने छ । एउटा उत्कृष्ट नाम नगरपालिकाले छनोट गरेर पुलको नामाकरण गर्ने नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । पुलको नामकरण पश्चात् बागलुङको प्रचार र पर्यटनमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ । पर्वतको पाङ र बागलुङ बजार ओहोरदोहोरमा सहजताका लागि बनाइएको पुल उद्घाटन पश्चात् आन्तरिक पर्यटकको रोजाइँमापर्ने गरेको छ । यो पुलमा दैनिक हजार बढी पर्यटक आउने गरेको नगरपालिकाको दाबी छ । पुलबाट देखिने हिम शृङ्खला, कालीगण्डकीको बहाव र हरियाली डाँडाकाँडाले शहरीया जनजीवनमा आत्तिएका आन्तरिक पर्यटकलाई भुलाउने गरेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार