प्रतिनिधिसभाको सभामुखमा रास्वपाका उपसभापति डि.पी. अर्याल निर्विरोध निर्वाचित

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ प्रशासन राजनीति समाचार समाज

काठमाडौ, २२ चैत २०८२ ।

प्रतिनिधिसभाको सभामुखमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले डि.पी. अर्याल सभामुखमा औपचारिकरुपमा निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

आजको कार्यसूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रसाव पेस गर्नुभएको थियो । लामिछानेको प्रस्तावमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गर्नुभयो ।

अर्याल गएको फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ–९ बाट निर्वाचित हुनुभएको हो । यसअघि उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत बन्नुभएको थियो ।  अस्ति शुक्रबार अर्यालले सभामुखमा मनोनयन दर्ता गर्नुभएको थियो । सभामुख पदमा उहाँको एकल उम्मेदवारी परेको थियो ।