बागलुङ, ७ मंसिर २०८३ ।
बागलुङमा आयोजित खुला पालिकास्तरीय पुरुष भलिबलको उपाधि नरेठाँटीले जितेकाे छ । हरिबोधनी एकादशी मेला २०८३ को अवसरमा निरयघाटनमा आयोजना गरिएको खुला पालिकास्तरीय पुरुष भलिबलको उपाधि गलकोटकाे नरेठाँटी भलिवल टिमले जितेको हाे ।
आईतबार भएको फाईनल खेलमा नरेठाँटी भलिबल गलकोटले जैमिनी नगरपालिकालाई ३—१ ले हराएकाे छ । पहिलो सेट २६—२४ ले जित्न सफल भएको जैमिनी नगरपालिले दोस्रो सेटमा २५—१९ ले गुमाउन पुग्यो । तेस्रो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सेट पोइन्टमा पुगेको जैमिनी सेट जित्नबाट चुक्यो ।
२४—२१ को अवस्थाबाट पुरागमन गर्दै गलकोटले तेस्रो सेट पनि २९—२७ ले आफ्नो पक्षमा पार्न सफल भयो । गलकोटले चौथो सेटमा २५—२१ को जित निकाल्दै हरिबोधनी एकादशी मेलामा आयोजित खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्यो ।
भलिबलको उपाधि जितेको नरेठाँटी भलिबल गलकोटले नगद एक लाख ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता जैमिनी भलिवल टिमले नगद एक लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । तेस्रो भएको कुस्मा नगरपालिकाले नगद ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको बागलुङ नगरपालिका भलिवल टिमले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गर्यो ।
विजेता, उपविजेता, तृतीय र सान्त्वना स्थान प्राप्त खेलाडी र टिमलाई ज्येष्ठ नागरिक ९५ वर्षीय कृष्णलाल शाक्य र मेला व्यवस्थापन समितिका पदाधिकारीले पुरस्कार वितरण गरेका थिए ।
