नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द, एआईले पत्ता लगायो कमजोरी

अचम्मका कुरा चर्चा बाहिरका कुरा समाचार सूचना प्रविधि

काठमाडाैँ, ५ कात्तिक २०८३ ।

नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द भएकाे छ । इन्टरनेटका अधिकांश वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द भएका हुन् ।

बुधबार दिउँसो ती कमजोरी समाधान गर्ने सुरक्षा अपडेट जारी गरिएको थियो । तर, समयमै अपडेट गर्न नसक्ने संस्थालाई आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गर्न सुझाव दिइएको थियो । साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई PHP को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए ।

आज बिहीबार बिहानसम्म नेपालका डट जीओभी डट एनपी वेबसाइटहरु खुलेका छैनन् । नेपालका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय र पालिकाका वेबसाइटहरु खुलेका छैनन् ।

सुरक्षा जोखिमकै कारण फिनल्यान्ड सरकारले पनि आफ्ना सार्वजनिक वेब सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । बेलायतको एडिनबरा काउन्सिल र बीबीसीले पनि आफ्ना केही वेब पृष्ठ अफलाइन गरेका छन् । नेदरल्यान्ड्सको साइबर सुरक्षा निकायले समेत जोखिमका कारण आफ्नो वेबसाइट अस्थायी रूपमा बन्द गर्ने जनाएको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले पनि सामाजिक सञ्जाल एक्समार्फत सुरक्षा अपडेट गर्न नसक्ने संस्थालाई आफ्ना प्रणाली अफलाइन राख्न सुझाव दिएको छ ।

एनएसएका अनुसार यी कमजोरीले आक्रमणकारीलाई सर्भरको फाइल प्रणाली वा डेटाबेससम्म सीधा पहुँच प्राप्त गर्ने बाटो दिन सक्छन् । त्यसबाट संवेदनशील सूचना चोरी हुने वा प्रणालीमा अनधिकृत पहुँच स्थापित हुने जोखिम रहन्छ ।

यी दुई सुरक्षा कमजोरी कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा पत्ता लागेका हुन् । साइबर सुरक्षा कम्पनी विज (ध्ष्श) ले यी कमजोरीलाई एआई प्रविधिबाट पत्ता लागेका अहिलेसम्मकै सबैभन्दा गम्भीर कमजोरीमध्येका रूपमा व्याख्या गरेको छ ।

एआई प्रविधिको तीव्र विकाससँगै साइबर सुरक्षाको क्षेत्रमा पनि ठूलो परिवर्तन भइरहेको छ । यसले सफ्टवेयरमा लुकेका कमजोरी पहिचान गर्न सहयोग पुर्‍याइरहेको छ । तर, यस्ता कमजोरीको दुरुपयोग हुन नदिन समयमै सुरक्षा उपाय अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ ।