काठमाडौ, ३ असार २०८३ ।
आजदेखि ५ सयका नयाँ नोट आएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।
संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा रहेको उल्लेख छ । यसअघि नेपाल राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि ५०० रुपैयाँ दर (२०२० सिरिज)का २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो ।
यस्तो छ नयाँ नोटको विशेषता
नयाँ नोटको अग्रभागमा वायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ । तल्लो खण्डमा सिरिज नम्बर २०८२ लेखिएको छ । साथै पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्ला रहेका छन् ।
सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरका चित्र छ । नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत छ ।
साथै ३.५ मि.मी. चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो राखिएको छ । नोटको पृष्ठ भागको मध्य खण्डमा पाटेबाटको चित्र र सोको माथि NEPAL RASTRA BANK लेखिएको छ । नोटको तल्लो खण्डमा RUPEES FIVE HUNDRED र सिरिज नम्बर 2025 AD लेखिएको छ ।
