काठमाडौँ, ७ असोज २०८२ ।
माइक्रोसफ्टले विश्वचर्चित विन्डोज १० को सपोर्ट बन्द गर्ने भएको छ । १४ अक्टोबर, २०२५ देखि कम्पनीले विन्डोज १० का लागि सबै प्रकारका प्राविधिक सहयोग, नयाँ फिचर र सबैभन्दा महत्त्वपूर्ण मानिने सुरक्षा अपडेटहरू बन्द गर्न लागेको हो ।
माइक्रोसफ्टले आफ्नो सबैभन्दा लोकप्रिय अपरेटिङ सिस्टम (OS) विन्डोज १० को सपोर्ट बन्द गर्ने मिति घोषणा गरेपछि कतिपय प्रयोगकर्ता चिन्तित बनेका छन् । यो मितिपछि कम्प्युटरमा विन्डोज १० चलेपनि यसमा भाइरस, मालवेयर र अन्य साइबर आक्रमणको निकै ठुलो जोखिममा हुनेछ । कम्पनीको यो घोषणाले विश्वभरका करोडौँ विन्डोज १० प्रयोगकर्ताहरूलाई अब के गर्ने भन्ने प्रश्न खडा गरेको छ ।
माइक्रोसफ्टले आफ्ना प्रयोगकर्ताहरूलाई विन्डोज ११ मा अपग्रेड गर्न सुझाव दिएको छ । तर अपग्रेड हुनका लागि आफ्नो कम्प्युटर भने त्यसको लागि योग्य हुनुपर्छ । यदि तपाईँको कम्प्युटर योग्य छ भने यो अपग्रेड पूर्ण रूपमा निःशुल्क छ । तर विन्डोज ११ का लागि निश्चित हार्डवेयर आवश्यकता भने तपाईँको डिभाइसले पुरा गर्नुपर्ने हुन्छ । जसमा TPM 2.0 (ट्रस्टेड प्लेटफर्म मोड्युल) र निश्चित आधुनिक प्रोसेसरहरू अनिवार्य गरिएका छन् । यही कारणले गर्दा धेरै पुराना र कतिपय अवस्थामा केही वर्षअघि किनिएका कम्प्युटरहरू पनि विन्डोज ११ का लागि अयोग्य ठहरिन सक्छन् । एक अनुमान अनुसार यसले गर्दा विश्वभरका करिब ४० करोड पीसीहरू काम लाग्ने अवस्थामा हुँदाहुँदै पनि फ्याँकिने र ई-वेस्ट (e-waste) को ठुलो समस्या सिर्जना हुने चिन्ता व्यक्त गरिएको छ ।
विन्डोज १० को सपोर्ट अन्त्य हुने दिन नजिकिँदै गर्दा प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता र बजेटअनुसार समयमै सही निर्णय लिनु आवश्यक छ । तर, प्रयोगकर्तासँग अतिरिक्त शुल्क तिरेर केही समयका लागि सुरक्षा अपडेटहरू लिने वा लिनक्स जस्ता वैकल्पिक अपरेटिङ सिस्टममा जाने विकल्पहरू पनि छन् ।
माइक्रोसफ्टले सपोर्ट बन्द गरेपछि विन्डोज १० प्रयोगकर्ताहरूले विभिन्न गम्भीर समस्याहरूको सामना गर्नुपर्ने हुनसक्छ । सबैभन्दा ठुलो चिन्ता सुरक्षाको हो । सुरक्षा अपडेटहरू बन्द भएपछि ह्याकरहरूले अपरेटिङ सिस्टमका नयाँ पत्ता लागेका कमजोरीहरूलाई सजिलै निशाना बनाउन सक्छन् । साइबर आक्रमणहरू निरन्तर विकसित भइरहेकाले पुरानो र असुरक्षित प्रणालीमा तपाईँको डेटा र व्यक्तिगत जानकारी चोरी हुने सम्भावना निकै बढी हुन्छ । अक्टोबर २०२५ पछि माइक्रोसफ्टले विन्डोज १० मा देखिने कुनै पनि प्राविधिक समस्याका लागि आधिकारिक रूपमा सहयोग गर्ने छैन । सफ्टवेयरमा आउने बग, कनेक्टिभिटी वा अन्य समस्याहरू समाधान गर्न प्रयोगकर्तालाई कठिनाइ हुनेछ ।
कम्पनीहरूले पनि आफ्ना सफ्टवेयर र हार्डवेयरलाई विन्डोज १० मा चल्ने गरी बनाउन छाड्नेछन् । यसले गर्दा नयाँ एप र प्रिन्टर, क्यामेरा जस्ता डिभाइसहरू तपाईँको पुरानो अपरेटिङ सिस्टममा नचल्ने समस्या आउन सक्छ । नियमित अपडेट बिना सिस्टमको गति र विश्वसनीयतामा कमी आउन सक्छ । कम्प्युटर ढिलो चल्ने, बारम्बार ह्याङ हुने र डेटा हराउन सक्ने जस्ता समस्याहरू देखिन थाल्छन् ।