बागलुङ, २० जेठ २०८३ ।
बागलुङको जैमिनीमा एक पुरुषको हत्या भएको छ । जैमिनी नगरपालिका वडा नं १० राङ्खानीको हाँडीकोटमा पदमार्ग निर्माणमा खटिएका एक पुरुषको हत्या भएको हो ।
हाँडीकोट भ्यूटावर पुग्ने पदमार्ग बनाउन खटिएका लमजुङका ६२ बर्षीय देउ कुमार सार्कीको हत्या गरेको आशंकामा उनकी श्रीमती सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको शरिरमा चोट लागेको पाइएपछि हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको थियो ।
घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फरिन्द्र प्रसाई घटनास्थलमा पुगेर थप अनुसन्धान गर्दा काम गर्न आएका मजदुर राम आकाश बिक, आस्बुरे कामी र सार्कीकी श्रीमती लक्ष्मी नेपाली समेतले मिलेर ढुुङ्गाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पत्रकार सम्मेलन गरि आरोपित सार्वजनिक गरेको छ । उनीहरूमाथि अनुसन्धान भैरहेको छ ।
