काठमाडौं, १९ कात्तिक २०८३ ।
नेपालका तीर्थस्थल संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा सहभागीहरुले नेपालका तीर्थस्थल संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिएका हुन् ।
गुरु दीपकिशोर भट्टराईद्वारा अघि सारिएको तीर्थ संरक्षण गुरुयोजनाको समर्थन गर्दै उनीहरूले नेपालका प्राचीन देवालय, मठमन्दिर तथा ऐतिहासिक तीर्थक्षेत्रको संरक्षण राज्य र नागरिक सबैको साझा दायित्व भएको बताए । पत्रकार सम्मेलनमा वक्ताहरूले तीर्थस्थलको उचित संरक्षण, प्रचारप्रसार र व्यवस्थापन गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका छन् ।

पत्रकार सम्मेलनमा धर्मप्रचार अभियन्ता अर्चना झाले नेपाललाई वैदिक तथा पौराणिक दृष्टिले देवभूमिका रूपमा चिनाउँदै धार्मिक पर्यटनको विकासबाट राष्ट्रिय अर्थतन्त्रसमेत बलियो बनाउन सकिने बताउनुभयो । उहाँले तीर्थस्थल साधुसन्तका लागि मात्र नभई सबै नागरिक र भक्तजनका साझा सम्पदा भएकाले यसको महत्त्व उत्तिकै हुने उहाँको भनाई छ ।
कार्यक्रममा अभियन्ता मालती पराजुलीले युवा पुस्तालाई सामाजिक सञ्जालमा मात्र सीमित नभई आफ्नो इतिहास, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय हुन आग्रह गर्नुभयो । सहभागीहरुले नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, तीर्थस्थलको पुनरुत्थान र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिएका छन् ।
