४ लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र आह्वान, किसानले सहज मल पाउलान् ?

काठमाडौं, ४ कात्तिक २०८२ ।

चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको रासायनिक मल आयात गर्न बोलपत्र आह्वान भएको छ । चालू आर्थिक वर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको रासायनिक मल आयात गर्न बोलपत्र आह्वान भएको हो ।

सरकारले रासायनिक मल आयातका लागि २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार एक लाख ९४ हजार ८५ मेट्रिकटन मल आपूर्तिको चरणमा छ । त्यसमा कृषि सामग्री कम्पनीको यूरिया ३३ हजार ती सय ३८ मेट्रिकटन, साल्ट ट्रेडिङ कर्पोरेशनको ५७ हजार छ सय ७० मेट्रिकटन बराबर छ ।

कृषि सामग्री कम्पनीले यूरिया, डीएपीसमेत गरी कूल एक लाख १५ हजार चार सय पाँच मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनले ७८ हजार छ सय ८० मेट्रिक टन बराबरको मल आपूर्ति गरेको छ । मन्त्रालयका अनुसार, अहिले एक लाख आठ हजार नौ सय आठ मेट्रिक टन मल भने मौज्दात छ ।

त्यसमा कृषि सामग्री कम्पनीमा डीएपी, यूरिया, पोटास समेत गरी कूल ६३ हजार आठ सय मेट्रिक टन र साल्ट्र ट्रेडिङ कर्पोरेशनमा ४५ हजार एक सय आठ मेट्रिक टन बराबर रासायनिक मल मौज्दात छ । हिउँदे खेतीलाई पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको मन्त्रालयको दाबी छ ।

गएको साउनदेखि असोज मसान्तसम्म एक लाख ३२ हजार आठ सय सात मेट्रिक टन मल बिक्री भएको पनि मन्त्रालयले जनाएको छ । सरकारले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउने लक्ष्य राखे पनि चाहिने बेलामा पर्याप्त मल पाउन किसानले भने सास्ती खेप्नुपर्ने बाध्यता छ ।